विश्वविद्यालय माथि सरकार बाटै आक्रमण : प्रचण्ड
वि.सं.२०८१ मंसिर १४ शुक्रवार १२:५९
shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान केपी ओली नेतृत्वको सरकारले त्रिभुवन विश्वविद्यालय लगायत देशका शैक्षिक प्रतिष्ठानहरूमा हस्तक्षेप र आक्रमण थालेको बताएका छन् ।
शुक्रवार निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन (प्याब्सन) ले आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले विश्वविद्यालयमाथि सरकारबाटै आक्रमण भएको बताएका हुन् ।‘त्रिभुवन विश्वविद्यालय लगायत देशका शैक्षिक प्रतिष्ठानमा प्रतिस्पर्धाका आधारमा पदाधिकारीहरू नियुक्त भए । तर, विडम्बना ! अप्राकृतिक र अस्वाभाविक रूपमा नयाँ गठबन्धन बनेपश्चात् ती प्रयासहरूमाथि आक्रमण थालिएको छ’, प्रचण्डले आफ्नो मन्तव्यमा भनेका छन्, ‘सरकारको नेतृत्वले विश्वविद्यालयमाथि हस्तक्षेप बढाएको छ ।’
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले मेरिटोक्रेसीबाट आएको शैक्षिक नेतृत्वको मानमर्दन गर्ने, शैक्षिक संस्थाहरूको नियमित प्रक्रिया रोक्ने, सुशासनका प्रयासहरूमाथि हमला गर्ने लगायतका अवाञ्छित क्रियाकलाप गरेको भन्दै आपत्ति जनाए । ‘यी सबै घटनाक्रमलाई मैले गम्भीरतापूर्वक हेरेको छु । म यही मञ्चबाट भन्न चाहन्छु– देशको शिक्षा क्षेत्रलाई तहसनहस पार्ने यो गतिविधि सचेत नेपालीहरूका निम्ति सह्य हुने छैन । सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रामा हाम्रो लडाइँ जारी रहनेछ’, प्रचण्डको चेतावनी छ । उनले भ्रष्टाचार र बेथितिका विरुद्ध नयाँ शिराबाट सङ्घर्षको झन्डा उठ्ने समेत बताएका छन् ।





































