सडक, सदन र समाचारमा हेर्ने हो भने रास्वपा, सभापति रवि लामिछाने र बालेन्द्र...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

डेढ महिनामै मूर्दावाद, रवि–बालेन किन यस्तो भयो ?

286
shares

 

सडक, सदन र समाचारमा हेर्ने हो भने रास्वपा, सभापति रवि लामिछाने र बालेन्द्र सरकार असफल भइसक्यो । तर यो अर्धसत्य हो । विपक्षी र बिरोधीको त कामै यही हो । आफूलाई सफल देखाउने । सफल देखाउन र हुन नसकेकाले आएको परिवर्तन हो यो । यसकारण यो परिवर्तनलाई मन नपराउने भ्रष्ट, अपराधी, अनुशासनहीन, राजनीतिबाट लाभ लिनेहरु नाखुश छन् । नाखुशवालाहरुले सरकार र रास्वपालाई अमानवीय, अनुशासनहीन, परम्परा तोडेको, अनुहार नदेखाएको भनेर झ्याइँ झ्याइँ बिरोध गर्नु सामान्य घटना हो । बुझ्नुपर्ने कुरा के हो भने पूरा सत्य के हो ? पुरा सत्य बुझेपछि थाहा हुन्छ, रास्वपा के चाहन्छ, सरकार के गर्दैछ ?
प्रम बालेन्द्र साह ३५ वर्षका युवा हुन् । उनलाई जनताले विश्वास गरेकाले र जनतासँग रास्वपाले करार र बाचा समेत गरेकाले कम्तिमा सय दिन काम हेर्न प्रतिक्षा गर्नैपर्ने हो । विपक्षीहरुले डेढ महिनामै सरकारको झाँको झार्न थालेका छन् । किन ? प्रजातन्त्रमा विश्वास गर्नेहरुले हनिमून पिरियड पनि कुर्न नसक्ने ? यो त अति भएन र ? न त सरकारले आफूलाई प्रष्ट देखाएको छ, न त विपक्षीले प्रजातान्त्रिक नर्मस् पालना गरेका छन् । कमजोरी दुबैतिर छ । दुबैले संवाद, सहमति र सहकार्यका साथ देशको शान्ति, समृद्धि र जनचाहनाको परिपूर्ति गर्न अग्रसर हुन अब अबेर गर्न हुन्न । जो दागी छन्, दण्डभागी छन्, तिनले कानुनतः पाउने सजाय पाउनैपर्छ । छुट कसैलाई पनि हुनुहुन्न । यदि सरकारलाई अप्ठेरोमा पारेर विपक्षीहरुले आफूलाई चोखो देखाउन पानीमाथिको ओभानो हुने कार्यशैली अपनाएका हुन् भने यो क्षम्य विषय होइन । सरकारले पनि प्रजातन्त्रप्रति प्रतिवद्धता जनाउन, गरिमा र महिमा स्थापित गर्न पछि पर्नु शंकास्पद हुनेछ । शंका पक्ष विपक्षमा कत्ति पनि रहनु हुन्न ।
जनता हेरिरहेका छन्, जनता न्याय पर्खिरहेका छन् । न्याय दिने र कार्यान्वयन गर्ने, व्यवस्थापन मिलाउने वीच नै शक्ति सन्तुलन हुनसकेन भने संविधान, संविधानको मृत्यु, फेरि संविधानको खाका तैयार हुन लागेका बेलामा बिथोल्ने कार्य भयो भने स्थिर सरकारको अवस्थामा पनि अराजकता बढ्नसक्छ । इतिहासले सबैको मूल्याङ्कन गर्छ गर्छ । हेक्का रहोस् दुबै पक्षलाई ।
सडकमा विपक्षी र सुकुमवासी, अव्यवस्थित बसोबासी र न्याय माग गर्नेहरु एक भएर रास्वपा र सरकारविरुद्ध मूर्दावादको नारा लगाउन थालेका छन् । किन यस्तो भयो ? रवि र बालेनलाई सरकारको भारी सम्हाल्नै नसक्ने स्थितिको देखिदैछ ।
पेलेर लाने र जाने स्थिति छैन । सबैको सहयोगले अघि बढ्नुपर्छ, जनताले जुन अपेक्षा राखेका छन्, त्यो पुरा गर्न सकिन्न अन्यथा ।
हो, सय दिनमा गर्छु भनेका बाचापत्र छन्, जनतासँग गरेका करार पनि छन् । सरकारले गति लिनैपर्छ, काम गर्नैपर्छ । तर पार्टी अध्यक्ष रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र साहले लिएको तीब्र गतिमा दुर्घटना हुने खतरा देखिदैछ । लागूपदार्थ खाएर सातघुम्तीको बाटोमा ठूलो सवारी साधन अन्धाधुन्ध कुदाएजस्तो देखिदैछ रास्वपाको सरकार । कतै यो दुर्घटना भयो भने परिवर्तन भड्खालोमा पर्नेछ । रास्वपा र बालेन्द्र पनि उही कानै चिरिएका जोगी सावित हुनेछन् ।
बालेन्द्र नबोल्ने, रवि लामिछाने सरकारमाथि भएको आक्रमणको वीचबचाउ गर्दैमा थकित । संसदमा रास्वपाका सांसदसमेत असन्तुष्ट देखिदैछन् । यो मानसिक दबाबले रास्वपा छिन्नभिन्न नहोस् । जनताका लागि झिकिदे गाँड भन्दा थपिदे गाँड नबनोस् रास्वपा र बालेन्द्र सरकार ।
प्रधानमन्त्री बालेन्द्र शाहको जुन ढंगको ‘एटिच्युड’ छ, त्यसप्रतिको सडकमा र संसदमा बढ्दो आक्रोशले रास्वपा, प्रम बालेन्द्र र रविजीलाई डिफेन्सिभ बनाउँदै लगेको देखिन्छ । डिफेन्सिभ हुनु भनेको हरिहल्लै चलामाला हो । नतिजा केही आउने देखिदैन । नबोल्ने बालेन्द्र र सहकारी प्रकरणको भारीले थिचिएका रविका लागि सरकारको अप्रत्याशित निर्णयहरुले अप्ठेरो परिस्थिति विकसित हुनथालेको छ । जनताले खोजेका त अप्रत्यासित मूभ नै हो । सुशासन र भ्रष्टाचारमाथिको नियन्त्रण नै हो । विकास र अनुशासन नै हो । तर सरकारको काम गर्ने शैली काँचो काँचो देखिन्छ, जसले गर्दा समाज बिथोलिन थालेको छ । परिवर्तन त ल्याउने, समाजको आँखामा कसिंगर बनेर होइन । विश्लेषकहरु भन्छन्– आगामी दिन रास्वपा, सभापति रवि र प्रम बालेन्द्रका लागि झन झन चुनौतीपूर्ण हुने अनुमान बढेर गएका छन् ।
संसदलाई बाइपास गर्ने र राष्ट्रपतिलाई अपमानित गर्ने प्रधानमन्त्री बालेनको ‘ओभर स्पिड’ निश्चय नै ठेस लागेको अवस्था हो । प्रम बालेन्द्रले किन यसो गरे, परिवर्तन चाहिएको हो तर अनुशासनहीन देखिएर होइन । प्रम बालेन्द्रको तीब्र गतिले परम्परा तोडिएका छन् । प्रमका गति र व्यवहार अनपेक्षित बनेका छन् । प्रमको हस्याङफस्याङ दौडले पुराना दलहरु मात्र होइन, रास्वपाको अवस्था पनि छायाँमा पर्न थालेको छ । यो असामान्य राजनीतिक परिदृश्य हो । प्रम बालेन्द्र भ्रष्ट होइनन्, तर गर्न के चाहन्छन्, देखाउन के चाहन्छन्, स्पष्ट छैन ।
प्रतिपक्षीहरु सभापति र प्रमवीच फाटो आओस्, सरकार केही गर्न नसकोस् भन्ने नै हो । कांग्रेस, एमाले, माओवादीका शीर्ष नेताको सम्पत्ति छानबिन सुरु भएको छ, रेडकर्नर नोटिस जारी भएका छन् । त्यसलाई रोक्न र सर्वोच्चमा प्रधानन्यायाधीश हुन नपाएको झोकमा कामु सपना प्रधानमल्ल र पूर्व प्रम शुशीला कार्कीसमेत बालेन्द्र सरकारविरुद्ध मोर्चा खोलेर युद्धको मनस्थिति, व्यवहार देखाइरहेका छन् । आगामी दिन राजनीतिमा मात्र होइन, कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकाभित्रै अनमेलका ठूला ठूला घटना हुनसक्ने अनुमान गर्न थालिएको छ । प्रमा बालेन्द्रको यो रिभोलुसनरी चरित्रप्रति देशभित्र र विदेशीले समेत विशेष चासो राखिरहेका छन् ।
३७ वर्षदेखि चलिआएको बहुदल र लोकतन्त्र खतरामा देखिन्छ । किनकि यसको डेन्टिङ पेन्टिङ होइन, ओभरहल गर्न सरकार लागेको आभाष आइसकेको छ । यसकारण पुराना दलहरुमा डर पसेको छ । उनीहरु संविधान र लोकतन्त्र खतरामा परेको भन्न थालेको छ । सरकारले संविधान बहसपत्र तैयार गर्दैछ । यसको विपरित प्रतिपक्षी दलहरु आफैले संविधान संशोधनका बुँदाहरुमा मतैक्यपत्र तैयार गर्दैछन् । यसको अर्थ देशमा संविधान छैन, प्रधानमन्त्री कार्यकारीको रुपमा प्रस्तुत भएका छन् । राष्ट्रपतिलाई कर्मकाण्डीका रुपमा हेर्छन्, व्यवहार गर्छन् । केही दिनमै अनहोनी राजनीतिक घटनाक्रम हेर्नुपर्ने हो कि ?
एमाले आफैमा चाउरिएको अवस्थामा छ । कांग्रेसभित्र देउवामाथि कारवाहीको नोटिस, सभापति गगन थापा पार्टी एकतावद्ध पार्न नसकेको अवस्था । माओवादी अर्थात नेकपाका अध्यक्ष प्रचण्ड एक्लै चिच्याइरहेका छन्– ठूला जनसमर्थन पाएर पनि भुइँमा न भाँडामा भएको पार्टीको अध्यक्ष म हुँ, रास्वपा सावधान । सानो पार्टी भए पनि हर्क साम्पाङ कर्कस स्वरमा सरकारको आलोचना गरिरहेका छन् । प्रधानमन्त्री नभएको सरकार हो यो ? भनेर उफ्रिरहेका छन् ।
विपक्षीहरुले रास्वपा हुन्जेल गर्नसक्ने विरोधका लागि बिरोधमात्र हो । तथापि उनीहरुले संसद अवरुद्ध पारेर सरकारलाई आफ्ना कुरा सुन्न र आफूलाई बुझाउन बाध्य पार्ने हरकत गरिरहेका छन् । प्रम बालेन्द्र छन् कि विपक्षीलाई भिजेको पराल गलाएझैं गलाइरहेका छन् ।
हरेक पार्टीभित्र बौद्धिक, नैतिक र बैचारिक क्रान्ति चाहिएको छ । हरेक सांसदमा नीति, नैतिकता र निष्ठा आवश्यक छ । प्रम बालेन्द्रको गति थामिएको छैन, सभापति रविको क्रान्तिकारी शैली कमजोर भएको छैन तर विपक्षीहरुको परम्परागत शैली उनीहरुका लागि ब्रेकर बनेको छ ।
रास्वपाका सभापति रवि लामिछानेमाथि लागेको दाग पखाल्नुछ । परिवर्तन ल्याउँछु ल्याउँछु भन्ने प्रम बालेन्द्रलाई आफ्नो सपथ पूरा गर्नुछ । झट्ट हेर्दा रास्वपाका लागि सत्ताको सवारी भालुको कन्पटजस्तो देखिन्छ । यथार्थमा रास्वपाले परिवर्तन गर्नैपर्छ, ल्याउनैपर्छ । अन्यथा हस्तिनापुरको राजबाट चपरीमुनीको बास हुनेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports