काठमाडौँ – घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। नेपाली राष्ट्रिय महिला टोली दोस्रो खेलमा थाइल्यान्डसँग ४ विकेटले पराजित भएको हो। यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो।
टियू मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाली महिला टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य थाइल्यान्डले अन्तिम ओभर बाँकी हुँदै ६ विकेट गमाएर पूरा गर्यो।थाइल्यान्डको जितमा ननापत कोन्चारोएनकाइले ६० रनको सानदार अर्धशतकीय अविजित इनिङ्स खेलिन्। उनले ५८ बलको सामना गर्दै ६ चौका प्रहार गरेकी थिइन्।उनीबाहेक कप्तान नरिमोल चाइवाइले १३ रन बनाउँदा सुवानन अइओटोले १४ रन बनाएकी थिइन्।
नेपालका लागि मनिषा उपाध्यायले २ विकेट लिँदा कविता जोशी, रुविना क्षेत्री र कविता कुँवरले समान १-१ विकेट लिएका थिए।त्यसअघि पहिले ब्याटिङ गरेको नेपालका लागि कविता कुँवर र विन्दु रावलले २५-२५ रन बनाउँदा ममता चौधरीले १५ रन बनाइन्। अन्य खेलाडीले भने दोहोरो स्कोरमा रन बनाउनन सकेनन्।थाइल्यान्डका लागि थिपचा पुथवङ्गले ३ विकेट लिँदा फनिथा माया र नथ्या बोचाथामले २-२ विकेट लिए। त्यस्तै चनिदा सुथिरूङ्गाले १ विकेट हात पारेकी थिइन्।
जितसँगै थाइल्यान्ड लगातार २ जितसहित शीर्ष स्थानमा पुगेको छ। यसअघि नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो। थाइल्यान्डले भने पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८ विकेटले हराएको थियो। नेपालको यो लगातार दोस्रो हार हो।