kumari
stcnepal

स्व. लक्ष्मीदास मानन्धर को हुन् ?

काठमाडौँ । बि. स. १९८५ साल मंसिर ४ गते काठमाडौंको ठहिटीमा जन्मनुभएका मानन्धरले आफनो ईहलीला २०७८ साल माघ ६ गते विसर्जन गर्नुभयो । मानन्धर एक प्रतिष्ठित उद्योगपतिका अलवा भाषासेवी, समाजसेवी, शिक्षासेवी र धर्मसेवी हुनुहुन्थ्योे । मध्यमा तहसम्म अध्ययन गरि जीवनको सुरुवात टेलिफोन अपरेटरको तहबाट शुरु गर्नुभएका मानन्धरले ऊ बेला आकर्षक मानिने खरिदारको तहमा रहेर पनि काम गर्नुभएको थियो । नेवार कुलमा जन्मनुभएका मानन्धरमा केही गरौँ हुटहुटी थियो, तसर्थ उनले त्यो आकर्षक जागिरलाई तिलान्जली दिदै उहाँ नुनको कारोबारमा होमिनुभयो । नुनसँगसँगै मानन्धरले आयात निर्यातको क्षेत्र र होजियारी उद्योगमा लगानी बिस्तार गर्नुभयो । त्यसो त बि. स. २०२० साल भाद्र २७ गते नेपाल सरकार र निजी क्षेत्रको संयुक्त लगानीमा सार्वजनिक निजी साझेदारी अन्तर्गत साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको स्थापना हुनपुग्यो ।

मानन्धर कर्पोरेशनका संस्थापकका रुपमा रहनु भएको थियोे । साल्ट ट्रेडिङको संचालक समितिमा रहेर उहाँले आमजनताको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने सेवामुखी व्यापार र उद्योगको प्रबर्द्धनमा योगदान पुर्याउनुभयो । साठिको दशकबाट उहाँले कर्पोरेशनको संचालक समिति अध्यक्षको जिम्मेवारी लिनु भएको थियो । उहाँले कर्पोरेशनलाई जनहितका काममा लाग्न प्रेरित मात्र गर्नुभएन कि, सबल नेतृत्व समेत प्रदान गर्नुभयो । सामुहिक भावनालाई आत्मसात गर्दै उहाँ र उहाँसँगै रहेका व्यवस्थापनका सारथीहरुको अविचलित र दृढ संकल्पले फलतः नेपालमा जनमुखी बजार अर्थतन्त्रको जगलाई मजबुत तुल्यायो । चाहे त्यो जनस्वास्थ्यसँग जोडिएको आयोडिनयुक्त नुनको पहुँचलाई आम सर्वसाधारणसम्म सहज रुपमा पुर्याउने सवाल होस् वा बजारमा आईपर्ने कृतिम अभाव, कालोबजारी, महंगी नियन्त्रण यसमा उहाँको योगदान पनि अतुलनिय रहेको छ । भुकम्प, नाकाबन्दी, प्राकृतिक प्रकोप जस्ता प्रतिकुल अवस्था र बिशेष महत्वका चाडबाडका बखत आदिमा पनि कर्पोरेशनले दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिई जनजीवनलाई सहज तुल्याउदै आएको छ ।

यस कार्यमा उहाँकोे योगदान प्रशंसनिय रहदै आएको पाईन्छ । यसका अलवा पनि उहाँले साल्ट ट्रेडिङद्वारा प्रबर्धित विभिन्न उद्योग एवं कंम्पनीहरु जस्तै सगरमाथा ईन्स्योरेन्स, नेपाल मैदामिल लगायतका बोर्डमा विभिन्न भुमिकामा रहेर कार्य गर्नुभयो । यसरी उहाँले आमउपभोक्ता र सरकारको सारथी भएर काम गर्नु भएको थियो । साल्ट टे«डिङ कर्पोरेशनले रासायनिक मलको बिक्रि वितरण गर्न थालेपछि भारतीय रेलको सबैभन्दा ठूलो नेपाली ग्राहक साल्ट टे«डिङ कर्पोरेशन बनेको छ । उँहा कै प्ररेणाले गर्दा साल्ट टे«डिङ कर्पोरेशनले विभिन्न क्षेत्रका व्यक्तिहरु संघ संस्थाहरुलाई वार्षिक रुपमा नगद पुरस्कार सहित सम्मानित गर्ने कार्य समेत गर्दै आएको छ ।

मानन्धरले वि.सं. २०१७ सालमा आएर नेपाल निटिङ्ग इन्डष्ट्रि नामक उद्योगको स्थापना गरि नेपालमै पहिलो पटक मोजा कारखाना स्थापना गर्नुभएको थियो भने भैरहवामा व्यापार कर्पोरेटद्धारा पेट्रोल पम्प, सिद्धार्थ कोल्ड स्टोरेज, नेपाल प्लाष्टिक उद्योग र सिद्धार्थ खाद्य उद्योग लि. गरि विभिन्न प्रकृतिका उद्योगहरु समेत संचालनमा ल्याउनु भयो । मानन्धरले यसरी भर्खर भर्खर जग हाल्दै गरेको नेपालको अर्थतन्त्रलाई आत्मनिर्भरता तर्फ उन्मुख गराउन अतुलनिय योगदान पुर्याउनु भएकोले उँहा प्रेरणाका स्रोत समेत रहनु भएको थियो ।
उहाँ होजियारी उत्पादन संघको संस्थापक सदस्य हुदै अध्यक्ष, नेपाल चेम्वर अफ कमर्शको कार्य समिति सदस्य, नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारीणी सदस्य हुँदै कोषाध्यक्ष र सल्लाहकार साथै राष्ट्रिय उद्योगी व्यापारी महासंघको अध्यक्षको जिम्मेवारी सम्हाल्दै व्यवसायिक क्षेत्रको उन्नयन र विकासका लागि पनि अनवरत तबरले लागि पर्दै आउनुभएको थियो ।

राजनीतिको क्षेत्र तर्फ २०५८ सालमा राष्ट्रिय सभा सांसद बन्नु भएका मानन्धरले २०६८ सालमा अन्तरिम संसदमा सभासदमा प्रवेश पाउनुभई एक वर्ष सम्म उद्योग व्यवसाय समितीको सभापतिको जिम्मेवारीलाई समेत कुशलतापूर्वक वहन गर्नुभएको थियो ।
उद्योगपती, राजनीतिज्ञका अलवा पनि मानन्धर एक अग्रज समाजसेवी, शिक्षासेवी र धर्मसेवी समेत हुनुहुन्थ्यो । यसको फेहरिस्त समेत निकै लामो छ । वास्तवमा उहाँ एक बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो । सबै भन्दा महत्वपूर्ण कुरा उहाँ यस देशको एक असल र इमान्दार नागरिक हुनुहुन्थ्यो । यस्ता मुर्धन्य व्यक्तित्वको योगदानलाई आम जनमानस सम्म पुर्याउने प्रयास स्वरुप हामीले उहाँको योगदानको छोटो चर्चा यहाँ गरेका हौँ । स्व. मानन्धरप्रति हार्दिक श्रद्धा सुमन ।

footer