प्रतिनिधिसभा विघटन असंवैधानिक
वि.सं.२०८२ असोज ३ शुक्रवार १४:५७
shares

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै विरोध गर्ने निर्णय गरेको सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले जानकारी दिइन् ।
उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकले निर्वाचन घोषणाको विरुद्धमा नजाने तर, प्रक्रियाबारे प्रश्न उठाउने निर्णय पनि गरेको छ ।‘प्रतिनिधिसभा विघटन असंवैधानिक हो । त्यसको विरोध गर्नुपर्छ भन्ने निष्कर्षमा बैठक पुगेको छ,’ सहमहामन्त्री उपाध्यायले भनिन्, ‘कांग्रेस लोकतान्त्रिक पार्टी हो, निर्वाचनको विपक्षमा जाँदैन तर प्रक्रियामा प्रश्न उठाउने निर्णय भएको छ ।’गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए । त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २६ गते राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । त्यो संविधान विपरीत भएको दलहरूले बताइरहेका छन् ।
कार्की प्रधानमन्त्री नियुक्त भएलगत्तै प्रतिनिधिसभा विघटनको सिफारिस र आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने सिफारिस गरेकी थिइन् । त्यसै अनुरूप राष्ट्रपति पौडेले प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन गर्ने सिफारिस सदर गरेका थिए । त्यसको कांग्रेस कार्यसम्पादन समिति बैठकले विरोध गरेको हो ।कांग्रेसले निर्वाचन घोषणा गरेपछि पनि अन्तरिम सरकारले निर्वाचनका स्टेक होल्डर राजनीतिक दलसँग कुराकानी नगरेको आपत्ति जनाएको छ । ‘सरकारले निर्वाचन कसरी गर्ने हो ? राजनीतिक दलसँग अहिलेसम्म छलफल गर्न आवश्यक ठानेको छैन,’ सहमहामन्त्री उपाध्यायले भनिन्, ‘निर्वाचन घोषणाको प्रक्रियाबारे केन्द्रीय समिति बैठक बोलाएर छलफल गर्ने निर्णय भएको छ ।’
कांग्रेस बैठकमा यसबारे अन्य राजनीतिक दलहरूसँग कांग्रेसले छलफल गर्ने कुरा उठेको पनि सहमहामन्त्री उपाध्यायले जानकारी दिइन् ।


































