अमेरिका र इरानबीचको शान्तिवार्ता फेरी असफल
वि.सं.२०८३ वैशाख १३ आइतवार ०९:०४
shares

काठमाडौं । अमेरिका र इरानबीचको शान्ति वार्ता फेरि कुनै ठोस नतिजाबिना नै सकिएको छ । पाकिस्तानको मध्यस्थतामा भएको दोस्रो चरणको वार्ता पनि असफल भएको हो ।
इरानी विदेशमन्त्री अब्बास अराघची शनिबार कुनै प्रत्यक्ष वार्ताबिना नै पाकिस्तानबाट स्वदेश फर्किएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिकी प्रतिनिधिमण्डलको पाकिस्तान भ्रमण रद्द गरे । विशेष दूत स्टीव विटकफ र ट्रम्पका ज्वाइँ जारेड कुशनर इस्लामाबाद भ्रमण गर्ने कार्यक्रम थियो ।फक्स न्यूजसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले यदि इरानले वार्ता गर्न चाहन्छ भने उसले अमेरिकालाई सम्पर्क गर्न सक्छ भने ।
रोयटर्सको रिपोर्ट अनुसार, अराघचीले अमेरिकी मागहरूमा इरानका सर्तहरू र आपत्तिहरू पाकिस्तानलाई पनि बुझाएका छन् । इरानले अमेरिकासँग सिधै वार्ता गर्न अस्वीकार गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईका अनुसार इरानले पाकिस्तानमार्फत मात्र आफ्ना कुरा राख्नेछ ।पाकिस्तानको मध्यस्थतामा इरान र अमेरिकाबीचको पहिलो चरणको वार्ता अप्रिल ११–१२ मा इस्लामाबादमा भएको थियो । २१ घण्टासम्म चले पनि वार्ता असफल भएको थियो । दुवै पक्ष होर्मुज जलडमरू र उनीहरूको आणविक कार्यक्रमको नियन्त्रणमा सहमतिमा पुग्न सकेका छैनन् ।
यसैबीच, इरानी राष्ट्रपति मसूद पेजेश्कियानले अमेरिकी नाकाबन्दी र दबाब जारी रहेसम्म प्रत्यक्ष वार्ता सम्भव नरहेको बताएका छन् । पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफसँगको फोन वार्ताको क्रममा उनले यस्तो बताएका हुन् ।पेजेश्कियानका अनुसार इरानले दबाब, धम्की, नाकाबन्दीमा अमेरिकासँग वार्ता गर्दैन । उनले शान्ति प्रक्रियाको सबैभन्दा ठूलो बाधा संवादको अभाव नभई अमेरिकाको शत्रुतापूर्ण कार्य रहेको टिप्पणी गरेका छन् । उनका अनुसार जबसम्म अमेरिकाले आफ्नो दबाब कार्यहरू बन्द गर्दैन, तबसम्म विश्वास पुनर्स्थापित गर्न र वार्ता अगाडि बढाउन गाह्रो हुनेछ ।






























