केन्द्रीय सदस्य राणाको महाधिवेशन गर्ने गरी कार्यवाहकको जिम्मेवारी दिन सभापति शेरबहादुर देउवालाई सुझाव
वि.सं.२०८२ असोज २६ आइतवार १५:०५
shares

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशमशेर राणाले महाधिवेशन गर्ने गरी कार्यवाहकको जिम्मेवारी दिन सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् । राणाले परिवर्तित राजनीतिक घटनाक्रम र स्वास्थ्यलाई मध्यनजर गरेर महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित कार्यवाहक तोक्न देउवालाई सुझाव दिएका हुन् ।
कांग्रेसभित्र नेतृत्व परिवर्तनका लागि तत्काल महाधिवेशनको माग उठिरहेका बेला देउवानिकट नेता राणाले भने– ‘पार्टीलाई एक ढिक्का राख्नुपर्नेछ। नेतृत्व परिवर्तनको मुद्दा जोडतोडले उठिरहेको छ । यस्तो बेला सभापतिज्यूले कार्यवाहकको जिम्मेवारी दिनु उपयुक्त हुन्छ ।’राणाले भने– ‘तत्कालको समस्याको निकासका लागि यो उत्कृष्ट विकल्प भएको पनि बताए । राणाले संस्थापन समूहको बैठकमा पनि पार्टीलाई विभाजनको बाटोमा जान नदिन नेतृत्व लचक हुनुपर्नेमा जोड दिँदै आएका छन् । संस्थापन समूहकै कतिपय नेताहरूले देउवाले कार्यवाहक तोक्न नहुने धारणा राख्दै आएको बेलामा राणाले कार्यवाहक तोकेर अगाडि बढ्नुपर्ने बताएका हुन् ।
कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाइरहेका छन् ।केन्द्रीय सदस्य राणाले प्रतिनिधिसभा पुन:स्थापनातर्फ पार्टी लाग्न नहुने बताए । ‘हाम्रै पार्टीभित्र कतिपय नेताहरूले संसद् पुन: स्थापनाकाे कुरा गरिरहनुभएको छ। यो उपयुक्त कुरा होइन । सरकारले फागुनमा निर्वाचनको मिति घोषणा गरिसकेको छ । अब पार्टीले निर्वाचनलाई प्रमुख मुद्दा बनाएर अगाडि बढ्नुपर्छ । त्यसका लागि सरकारलाई पनि वातावरण बनाउन दबाब दिनुपर्छ,’ राणाले भने ।
पार्टीभित्र भ्रष्टाचार विरोधी अभियान नै सञ्चालन गर्नुपर्ने राणाको भनाइ छ । ‘अहिलेको जेनजीको प्रमुख माग नै सुशासन, पारदर्शिता हो । अब कांग्रेसले यो विषयमा पनि कठोर हुन जरुरी छ । भ्रष्टाचारका विरुद्ध पार्टी लाग्नुपर्दछ । यसमा शून्य सहनशीलता अनिवार्य हुनुपर्दछ ।’ कांग्रेसले परिवर्तित राजनीतिक अवस्थालाई आत्मसात् गर्नुपर्ने उनको तर्क छ ।





































