राष्ट्रिय सभाको निर्वाचन : मतपत्रको पहिलो नम्बरमा एमालेको चुनाव चिन्ह सूर्य
वि.सं.२०८२ मंसिर १९ शुक्रवार १४:११
shares

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनमा १३ वटा राजनीतिक दलले भाग लिने भएका छन् । राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएका १३ वटै दललाई निर्वाचन आयोगले स्वीकृत गरेको छ । साथै आयोगले दलहरूलाई निर्वाचन चिह्न समेत प्रदान गरेको छ ।
मतपत्रमा क्रमशः नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपालको निर्वाचन चिह्न हुनेछ ।छैटौँ नम्बरपछि जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी–नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, बहुजन शक्ति पार्टी र तराईरमधेश लोकतान्त्रिक पार्टीको क्रम निर्धारण भएको छ ।नयाँ दर्ता भएका दुई दल नागरिक उन्मुक्ति पार्टी, नेपाल र श्रम संस्कृति पार्टीको निर्वाचन चिह्न मतपत्रको अन्तिममा रहनेछ । दर्ता स्वीकृत भएको र क्रम निर्धारण गरिएको सबै दलको निर्वाचन चिह्न सात वटै प्रदेशमा एकैनासको हुनेछ ।
आगामी फागुन २० गते बाट राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल सकिँदैछ । त्यसमध्ये एक जना वामदेव गौत्तम राष्ट्रपतिबाट मनोनित सांसद हुन् । कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २र२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २र२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुनेछ ।
निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि प्राप्त निवेदन स्वीकृत गर्नुका साथै उनीहरूको क्रमसमेत निर्धारण गरिदिएको छ । आयोगका अनुसार २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा दलहरूले समानुपातिकतर्फ प्राप्त गरेको मतका आधारमा क्रम निर्धारण गरिएको हो ।






























