जेनजी आन्दोलनपछि सरकार र प्रमुख दलका शीर्ष नेता बीच पहिलो पटक एकठाउँमा भेटवार्ता
वि.सं.२०८२ पुस ८ मंगलवार १९:०३
shares

काठमाडौँ । जेनजी आन्दोलनपछि सरकार र प्रमुख दलका शीर्ष नेता तीनतिर फर्किएका बेला मंगलबार पहिलो पटक एकठाउँमा भेटवार्ता गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित प्रमुख दलका शीर्ष नेतालाई एकै ठाउँमा भेटवार्ता गर्ने अवसर जुराइदिएका हुन् । यसअघि प्रधानमन्त्री कार्कीले प्रमुख दलका शीर्ष नेतालाई एक्लै नभेट्ने बताउँदै आएकी थिइन् । प्रमुख दलका शीर्ष नेताले फागुन २१ को निर्वाचन लगायतमा प्रधानमन्त्रीले आफूहरूसँग कुनै छलफल नगरेको भन्दै गुनासो गर्दै आएका थिए ।
जेनजी सरकार गठन भएको तीन महिनापछि मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डविच भेटवार्ता र निर्वाचनबारे कुराकानी भएको हो ।
योसँगै प्रधानमन्त्री र प्रमुख दलका नेताबिचको संवादहीनता तोडिएको छ । सरकारले निर्वाचनको तयारी गरिरहेका समयमा नेकपा एमाले र कांग्रेस संसद पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालत गएका छन् ।
एमाले अध्यक्ष ओलीले संसद पुनर्स्थापना तथा सर्वदलीय सरकार गठन गरेर संसदबाटै जेनजीका माग सम्बोधन गर्न सकिने प्रस्ताव अघि सारेका बेला शीतल निवासमा त्रिपक्षीय भेटवार्ता भएको हो ।





































