संसद पुनःस्थापनाको रिट निवेदनको मुद्धा छिटो टुङ्ग्याउन कांग्रेसका पूर्व सांसदहरूको प्रधानन्यायाधीश सँग आग्रह
वि.सं.२०८२ माघ १४ बुधवार २२:२९
shares

काठमाडौँ । सर्वोच्च अदालतमा परेको प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी रिट छिटो अगाडि बढाउन कांग्रेसका पूर्व सांसदहरूले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको ध्यानाकर्षण गराउने भएका छन् ।
विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक रहेका श्यामकुमार घिमिरे नेतृत्वको पूर्व सांसदहरूको टोलीले आफूहरूको रिट छिटो अगाडि बढाउन ध्यानाकर्षण गराउनका लागि प्रधानन्यायाधीश राउतसँग बिहीबारका लागि समय लिएको हो ।घिमिरेले कांग्रेस एमालेलगायतले दायर गरेको रिटको सुनुवाइ अगाडि बढाउन भोलि (बिहीबार) प्रधानन्यायाधीश राउतलाई भेटेर ध्यानाकर्षण गराइने जानकारी दिए ।
‘कांग्रेस एमाले लगायतका दर्जन बढी रिट संसद् पुनर्स्थापना माग गर्दै परेका छन् । सर्वोच्च अदालतले अहिलेसम्म त्यो रिटको पेसी तोकेन । आलटाल गरिरहेको छ,’ घिमिरेले रातोपाटीसँग भने, ‘रिट परेपछि त्यसलाई टुङ्ग्याउनुपर्छ । जे हो न्यायालयले संविधानको व्याख्या गर्नुपर्छ । पेसी तोक्नुस्, सुनुवाइ गर्नुस् र मुद्दा टुङ्ग्याउनुस् भन्दै भोलि ध्यानाकर्षण गराउन प्रधानन्यायाधीशको समय लिएका छौँ ।’
घिमिरेले एमालेका सांसदलाई पनि सर्वोच्च जानका लागि खबर गरेको जानकारी दिए । कांग्रेसका ६५ पूर्व सांसदले संसद् पुनर्स्थापनाका लागि रिट दायर गरेका छन् । काठमाडौँ उपलब्ध पुनर्स्थापनाका लागि रिट दायर गर्ने सबै पूर्वसांसद भोलि सर्वोच्चमा जाने घिमिरेले जानकारी दिए ।



































