नयाँ पुस्ताले गर्छु भनेका छन्, गरेर देखाउ
वि.सं.२०८२ फागुन २८ बिहीवार १२:०८
shares

पुरानाले सकेनन्, पुराना भ्रष्ट भए, पुराना परिवारवादी भए भनेर कोकोहोलो मच्चाएको धेरै भयो । यही कोकोहोलोको वीचमा भदौ २३ र २४ को जेनजी आन्दोलन, विद्रोह भयो । जसजसको कमी कमजोरी, प्रायोजन वा घूसपैठबाट भएको भए पनि बहुदलपछिको ३७ वर्ष र लोकतन्त्रपछिको १७ वर्षमा पुराना पार्टीका कमीकमजोरीमा जनता असन्तुष्ट थिए, आक्रोसित थिए । भ्रष्टाचार अनैतिकताका अनेक घटनाक्रमले जनतालाई बिद्रोही बनाएकै थियो । परिणाम फागुन २१ को चुनावमा बुढोपुरानो पुस्तालाई जनताले थचारिदिएका छन् ।
पुरानो पुस्ता ५ वर्षका लागि थन्किनु भनेको हरेक पार्टीमा नयाँ पुस्ता अगाडि आउने ढोका खुल्नु हो । पुरानो पात झ¥यो, नयाँ पलाउनु पर्छ । जो सरकारमा गए पनि प्रतिषोध साध्ने छुट छैन । राम्रो गर्नका लागि नयाँ पुस्तालाई जनादेश प्राप्त भएकाले तिनले भ्रष्टाचारलाई न्यूनिकरण गर्नुछ, सुशासन पनि ल्याउनुछ । शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनामा बेग हान्नु छ । हान्न सकेनन् भने यिनीहरु पनि पन्छिने दिन आउनेछ । जनताको भरोसामा सुन देखिएका छन्, सुन सावित हुन् । पित्तल भन्नु नपरोस् ।
०४६ सालमा बहुदल पुनस्र्थापना भएपछिका ३७ वर्षमा के थिएन कांग्रेस, एमाले, माओवादीसँग ? सत्ता थियो, पार्टी थियो, संगठन थियो, संसदमा तिनै थिए । ३७ वर्षदेखि रजगज गरेकै हो । जनताको आवाज नसुन्दा, जनताको माग संवोधन नगर्दा भदौ २३ र २४ को घटना घट्नपुग्यो । राजनीतिक पुँजी थियो, खरानी भयो । राजनीतिक शक्तिहरुसँग संवाद, सहमति र सहकार्य नगर्दा ओल्लो तीर न पल्लो किनार हुनपुगे । जुन गल्ती पुरानाले गरे, नयाँले त्यो गल्ती नदोहो¥याउन् ।
कमजोरी भएकै हो । राजनीतिमा विवेक हुनुपर्छ । विवेक मरेकै हो । विवेकहीन हुँदा जसरी महाभारतमा दुर्योधन र धृतराष्ट्रको दुर्गति भएथ्यो, नेपाली राजनीतिक बादशाहहरुको त्यही चाल भयो । नयाँ आएकाले बादशाह बन्न नखोजुन् ।
राजनीतिक द्वन्द्व किनारा लगाउन नसक्दा, त्यो पाटोतिर पार्टी र नेताहरुको बुद्धि नपु¥याउँदा, अहंकारी बन्दा, निषेध, विभेद र प्रतिषोधकारी हुँदा ठूलापार्टीलाई राजनीतिक सन्निपात लाग्यो । बुढा पुराना पार्टीनेताहरुले राजनीतिक असफलताको सन्यासोमा च्यापिए ।
अब ठूला भनिएका नेता र पार्टीहरुलाई खरानीबाट उठ्नुछ । समय छैन, तिनीहरु कसरी उठ्लान् र ? नयाँ आएकाले ५ वर्षको जनादेश पाएका छन् । ती फूट्न गए, असफल भए भने सम्हाल्न पुरानै दलहरु अग्रसर हुनेछन् । पुराना पार्टीभित्रका नयाँ पुस्ताले नाङ्गेझार बनेको पार्टीलाई जगाउनु छ, जोगाउनु छ । ५ वर्षको परिश्रमपछिको परीक्षामा उतार्ने तैयारी अहिलेदेखि नै सुरु गर्दा राम्रो । बिगतमा दुई तिहाइका पार्टी पनि फुटेका छन्, मध्यावधि भएको छ ।
हुन त मति बिग्रेको २०४६ सालको बहुदलको पुनस्र्थापनादेखि नै हो । बहुदललाई भ्रष्टाचारको कालरात्रि कसले बनायो ? २०५१ साल फागुन १ गतेदेखि १० वर्षे जनयुद्धकालमा जे भेट्यो त्यही तिम्रो भनेर कसले सपना देखायो ? सर्वहारालाई सम्पन्नताको सपना देखाएर कसले माओवादलाई आफ्नै प्रगतिका लागि हतियार बनायो ? प्रजातन्त्रवाद र माओवादलाई कसले परित्याग ग¥यो ? प्रजातन्त्र भनेको नीति, सिद्धान्त, नैतिकता त्यागेर जसरी पनि सत्तामा पुग्नु र लुट्नुमात्रै हो भनेर कसले प्रमाणित ग¥यो ? लोकतन्त्रको दुरुपयोग गरेर राष्ट्रिय सम्पत्तिमा भ्रष्टाचार गर्नु र राजनीतिलाई अपराधीकरण कसले ग¥यो ? जनताको थाप्लोमा अन्याय थोपरेर न्यायलाई किनबेचको विषय कसले बनायो ? यी अनेक प्रश्नको उत्तर माग्दा माग्दै कसले जेनजी पुस्तामाथि राज्यदमन ग¥यो, गोली हानेर बालबालिका मा¥यो ? यी तमाम आक्रोशपूर्ण प्रश्नको जवाफ हो फागुन २१ को निर्वाचन परिणाम ।
यतिबेला २०४६ सालदेखि ३७ वर्ष शासन गरेका दलपतिहरुको अपराधिक राजनीतिलाई जेनजीको आँधीले बढारिदियो । दलपतिहरु रुन्चे मुख लगाएर कुनापसेका छन् । बौरिने र जिवन्त हुने प्रयासमा छन् ।
चुनावी परिणाम आश्चर्यजनक आयो । जुन परिणाम आएको छ, एउटा पनि नेताले धाँधली भयो भनेनन्, यो आश्चर्य हो । चुनावका बेलामा एउटा पनि हिंसा भएन, यो अर्को सुखद समाचार भयो । हो, ठूला दल र नेताहरुको नियति बिग्रेकी भाउजुको जस्तै देखिन्छ यतिबेला । ठूला दलहरु भात खाउँ कि थाल खाउँको स्थितिमा पुगेका छन् । हाँसको बथानमा बकुल्लो बनेका छन् ३७ वर्षे शासक टोली । अब बुद्धि आयो होला तर ढिला आयो ।
प्रमाणित भयो, जनताले चाहे नहुने के रहेछ ? यो संविधानलाई दोष दिनेहरुले रास्वपाको प्रचण्ड बहुमत देखे । आगामी ५ वर्ष यिनले देख्छन् । रास्वपा परिवर्तनको बाहक बनेको छ । सुशासनको प्रत्याभूति र भ्रष्टाचारीमाथिको दण्ड बनेर उदाएको छ । जनादेश छ, यो दलले ठूला ठूला निर्णय गर्नसक्छ, गर्छ । यसकारण पराजीत दलहरुतिर हेरेर आम नागरिक भनिरहेका छन्– हिस्स बुढी खिस्स दाँत ।
आलोपालो सत्तामा, सत्ताको सेटिङ, भ्रष्टाचारमा भाग शान्ति जयनेपाल, नियुक्तीमा व्यभिचार सबै सकियो । ठूला दलका भ्रष्टाचार गर्ने सटर बन्द भए ।
जनता जागेपछि ३७ वर्ष शासन गरेका शक्तिशाली नेता र पार्टीहरु भिजेको परालखुट्टे बने, न टेक्न सक्छन्, न उभिन । यिनीहरु उभिएको राजनीतिक जमिन भासिएको छ । फागुन २१ को पहिरोले ठूला पार्टीले मच्चाएका भ्रष्टाचारका अनेक नालीहरु देखिन थालेका छन् । त्यसमाथि भदौ २३ र २४ को जाँचबुझ आयोगले फौजदारी अभियोग नै लगाउन सिफारिस गरेपछि दमनकारी जेलमा, भ्रष्टाचारी नेलमा पर्ने दिन धेरै टाढा देखिदैन । भ्रष्टाचार र अपराधीकरण छिमोल्ने प्रकृया सुरु भइसक्यो । अब आउँछ सुद्धिकरणको अर्को आँधी । त्यतिबेला के होला, के नहोला ?
कांग्रेसका शेरबहादुर देउवा आफूलाई राजनीति शेर नै ठान्थे, एमालेका अध्यक्ष केपी ओली आफूलाई राजनीतिक पण्डितजस्तो देखाउँथे, जंगल र जनयुद्धबाट राजनीतिमा उत्रेका प्रचण्ड आफूलाई मिसाइलम्यान, डाइनामिक लिडर, म्याजिक पर्सन प्रमाणित गर्थे, यी तिनै नेता फागुन २१ को चुनावी नतिजा हेर्दा कसरी गलेर, कुहिएर फतफती झरे ? अन्तिम निर्णायक त जनता नै रहेछन् भन्ने प्रमाणित भयो । मैमत्ता न कलकत्ता हुँदा कसरी नोज डाइभ गर्नुपर्ने रहेछ । राजनीतिका नमकहराम सुखी ठान्नेहरुहरु कसरी एकाएक दुःखी आत्मा बन्न पुगे ?
अचम्म त के छ भने पुराना दलले न राजनीतिमा सहमति गर्न तम्सिए, न तिनले के के उपलव्धि गरे भनेर भन्न सक्ने स्थिति रह्यो । जब तिनको बालुवाको भ्रष्ट महल ढल्यो, अब तिनले पुर्पुरोमा हात राखेर फुर्सदले पछुताउनेबाहेक अर्को बिकल्प रहेन ।
देश के हो, देश नहुने वा देश गुमेका सिक्किमेहरुलाई सोध्नुपर्छ । दलाई लामा देश देश भनेर मर्ने स्थितिमा पुगिसके । म मर्नुपर्छ भन्ने बिर्सेर अमर हुनुभन्दा घृणा बचत गर्नेहरु आज जनताको घृणापात्र बनेका छन् । कुनै पनि नेतालाई जनताले यो काम राम्रो गरे भनेको सुनिएन ।
लोकतान्त्रिक गणतन्त्र भनेर नथाक्ने र त्यसैको आवरणमा भ्रष्टाचार र अपराधको जंगली शासन चलाउनेहरु ब्यूँझिन त निन्द्राबाट ब्यूँझिए तर अबेर भइसक्यो । भुइचालो गइसक्यो । बिपत्तिले घेरिसक्यो । तथापि भविष्यको राजनीतिका लागि यो शिक्षा बनेको छ ।
राष्ट्रले आफ्ना लागि रास्वपाको ५ वर्षे शासन चुनेका छन् । रास्वपाले अभिभावक छान्नुछ, सबै राजनीतिक शक्तिहरुसँग संवाद, सहमति र सहकार्य गर्नुछ । युवाहरुलाई यही देशमा गरिखान सकिन्छ भन्ने विश्वास जगाउनुछ, उत्साह र उत्प्रेरणा दिनुछ । रवि लामिछाने र बालेन साहले मेचीदेखि महाकालीसम्मका जनतालाई विश्वास दिलाएका छन्, जनता अब केही हुन्छ, इमानका साथ सुशासन ल्याउँछन् भन्ने भरोसा दिएका छन् । आउने एक एक दिनमा नयाँपुस्ताको इमान र जिम्मेवारी देखिनुपर्नेछ । देखियोस्, राजनीतिले कोल्टे फेरेको छ, उज्यालो ल्याओस्, शुभकामना ।






























