मेयरबाट प्रधानमन्त्री : अवसरभन्दा चुनौती बढी
वि.सं.२०८२ चैत २६ बिहीवार १२:००
shares

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह नेपाली राजनीतिको एउटा अद्वितीय पात्र बनेका छन् । राजनीतिमा स्वतन्त्र उम्मेदवारको रूपमा उदाएका बालेनले परम्परागत दलहरूको वर्चस्वलाई चुनौती मात्र दिएनन्, जनताले खोजिरहेको वैकल्पिक नेतृत्वको प्रतीक बने । यसले उनलाई इतिहास निर्माण गर्ने अवसर दिएको छ ।
तर मेयरबाट प्रधानमन्त्री बनेका बालेन साहका सामु अवसरभन्दा चुनौती बढी छन् ।
संरचनात्मक चुनौती र अवसर
ँएउटा मेयर प्रधानमन्त्री बन्न सक्नेरहेछ, जनताले मन पराएपछि स्थापित दलहरु बिस्थापित हुनेरहेछन् । फागुन २१ को चुनावले यही दृश्य देखाएको छ । हुन त जेन जी आन्दोलन, अन्तरिम सरकार र चुनावमा धेरै विषयहरु चर्चामा छ । षडयन्त्र भयो भन्ने पनि छ । जे भए पनि चुनावमा जनताले परिवर्तन खोजेकै हुन् । जनताका सामु झुकेर माफी नमाग्दा, आत्मसमीक्षा गर्न नसक्दा स्थापित र संगठित दलहरु कमजोर सावित हुनपुगे । काठमाडौं महानगर नेपालको राजनीतिक, आर्थिक र सांस्कृतिक केन्द्र सफल नेतृत्वपन देखाउँदा बालेन साह र रास्वपाका सभापति रवि लामिछानेको जोडीले नेपाली राजनीतिललाई यू टर्न नै दिलाइदिए । जनताले विश्वास गरेपछि जुनसुकै आक्षेप लगाए पनि नतिजाले जनताको मत, जनादेशलाई नै प्रमाणिकता मान्छ ।
यो गजबको मोडल राजनीति सुरु भएको छ । ०४६ सालपछिको ३७ वर्षपछि आएको नयाँ मोडेल हो । यो मोडेलमा बालेन साहले पारदर्शिता, दक्षता र परिणाममुखी शासनलाई प्राथमिकता दिन सके भने, यो मोडेल अन्य स्थानीय निकायका लागि पनि प्रेरणा बन्न सक्छ । विश्वराजनीतिमा समेत नेपालको यो मोडेलले अर्थपूर्ण उदाहरणको दर्जा पाउन सक्छ ।
नेपालमा पुराना संरचनागत समस्या—जस्तै भ्रष्टाचार, असक्षम प्रशासन, र राजनीतिक हस्तक्षेप—बालेन सरकारका अवरोध हुन् । यी अवरोध पन्छाउन प्रयत्न सुरुभएको छ । यो प्रयत्नमा स्थापित पुराना दलहरुले पूर्वाग्रहपूर्ण कारवाही थालेको भनेर बिरोध सुरु गरेका छन् । अहिलेसम्म बालेन सरकारलाई जनताले केही गर्छ भनेर आशा राखिरहेकाले जनस्तरमा पुराना दलहरुको बिरोधले केही अर्थ देखाएको छैन । तथापि आफ्नो सय बुँदे कार्यक्रम पूरा गर्न सकेनन् र जनअपेक्षामा तुषारापात हुनपुग्यो भने, बालेन र रविकै कानको जाली जन–घण्टीको आवाजले फुटाउने पक्का छ । पाइला पाइलामा हेक्का राख्नुपर्छ बालेन सरकारले कि कुनै नेपोटिजम, असमानता, विभेद, निषेध, पूर्वाग्रह देखिनु हुन्न । सक्षमलाई अवसर दिनुपर्छ, समानता र विधिको शासनमा कत्ति पनि खेलाँची हुनुहुन्न ।
जनअपेक्षा र वैकल्पिक राजनीति
बालेन साहलाई जनताले परम्परागत दलहरूको असफलताबाट निराश भएर चुनेका हुन् । यसकारण बालेन सरकार, रास्वपा जनआशा, जनअपेक्षाको परिणाम हो । जनादेशले बालेन, रविलाई मात्र लोकप्रिय बनाएको छैन, बरु वैकल्पिक राजनीतिको सम्भावनालाई पनि उजागर गरेको छ । ३७ वर्षपछि उजाएको बैकल्पिक राजनीतिमा परिवर्तन जनताले देख्न पाउनुपर्छ ।
बालेन साह र रास्वपाले जनअपेक्षालाई पूरा गर्न सकेन दण्डित हुनेछ भने राम्रा र अपेक्षित काम गर्न सके, जनतासँग गरेको करार र बाचापत्र पूरा गरियो भने, बालेन, रवि र रास्वपाको भविष्यमा विश्वास बढ्नेछ ।
इतिहास निर्माणको सम्भावना
मेयरको रुपमा राजधानीमा जुन प्रकारले बालेन साहले केही राम्रा र उदाहरणीय काम गरेर जनता र कूटनीतिज्ञहरुको पनि विश्वास जित्न सकेका थिए, त्यस्तै काम प्रधानमन्त्रीको रुपमा गरे भने बालेन साहलाई सफल नेतृत्वको उदाहरण बनाउन सक्छ ।
बालेन सरकारले संस्थागत पारदर्शिताः बजेट, ठेक्का प्रक्रिया, र निर्णय प्रणालीलाई खुला र उत्तरदायी बनाउन सके भने, यो दीर्घकालीन सुधार हुनेछ । सबैले वाहवाही गर्नसक्छन् ।
मेची महाकालीका सम्पदालाई पर्यटन आकर्षण बनाउन र सांस्कृतिक पुनर्जागरणः काठमाडौंलाई ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षणमा विश्वस्तरमा चिनाउन सक्ने अवसर पनि छ । बालेन साह र रास्वपाका अग्नि परीक्षा सुरु भइसकेका छन् ।
जोखिम र सीमाहरू
बालेन साहको लोकप्रियता व्यक्तिगत करिश्मामा आधारित छ । यदि संस्थागत सुधार नभए, यो लोकप्रियता क्षणिक हुनसक्छ । अवसरहरु छन्, जोखिम र सीमाहरु पनि साथसाथै रहेका छन् । स्थापित राजनीतिक दलहरूको प्रतिरोध र भ्रष्ट बनिसकेको प्रशासनिक जटिलताले रास्वपाको योजनालाई कमजोर बनाउन सक्छ ।
जनता कुर्न सक्दैनन् । लामो समय निराश बनेपछि मौन बिद्रोह गरेर जनताले रास्वपालाई ऐतिहासिक जनादेश दिएका हुन् । जनताले तत्काल परिणाम चाहन्छन्; ढिलो भएमा असन्तोष बढ्न सक्छ । यो विषय बालेनका लागि सबैभन्दा ठूलो जोखिम हो ।
निष्कर्षमा भन्नुपर्दा बालेन साहलाई इतिहास निर्माण गर्ने अवसर छ—तर यो अवसर व्यक्तिगत लोकप्रियताभन्दा बढी संस्थागत सुधारमा निर्भर रहने छ । यदि उनले काठमाडौंलाई पारदर्शी, दक्ष, र आधुनिक महानगरमा रूपान्तरण गर्न सके भने, उनी केवल सफल मेयर मात्र होइन, वैकल्पिक राजनीतिको ऐतिहासिक मोडेलका रूपमा दर्ज हुनेछन् । बालेन साहले बीबीसी र अमेरिकी पत्रकारलाई अन्तर्वार्ता दिएनन्, मलाई काम गर्नुछ भनेर फर्काइदिएका छन् । यो घटनालाई पत्रकारहरुले बालेनले केही गर्छन् भन्ने आशलाग्दो टिप्पणी गरेका छन् ।
नेपालमा परिवर्तन गर्ने अभूतपूर्व अवसर बालेन साह र रास्वपालाई प्राप्त भएको छ । बालेन र रविको ब्राण्डिङले केही आशा जगाएका छन् । जनतामा पलाएको त्यही आशा पूरा गर्ने जिम्मेवारी चुनावमार्फत जनताले दिएका छन् ।
धेरै कम बोल्ने, भाषण सकभर गर्दै नगर्ने, अपार साहस भएका र हक्की स्वभावका बालेन साह प्रधानमन्त्री बनेका छन् । बहुदलदेखि लोकतन्त्र कालको राजनीतिक असफलताले पनि बोल्नेभन्दा काम गर्ने व्यक्तिको आवश्यकता थियो, जुन जनताले चुने, देशले पायो, बालेनलाई अवसर आयो । राजनीतिक दलहरूले नीति, निष्ठा, सिद्धान्त छाडे, नैतिकता गुमाए, भ्रष्टाचारमा डुबे, नाताबादभन्दा बढी केही देखेनन् । यसबाट निराश भएका जनतामा आशा जगाएको छ । सिंहदरवार गाउँपालिकासम्म पु¥याउने भनेर पुराना दलहरूले भ्रष्टाचारलाई व्यापक बनाएका थिए । त्यसलाई करेक्शन गरेर बिकासको गति र समान अवसरहरू सिर्जना गर्नुछ । बालेन साहले प्रधानमन्त्रीका रूपमा सरकारी सेवाको विधि, प्रक्रिया, सार्वजनिक प्रशासन, विकासका मोडल, सरकारी काम गर्ने तौरतरिका लगायतका समग्र विषयमा गम्भीर समीक्षा र गर्नुपर्ने परिवर्तनका खाका कोर्न थालिसकेका छन् । बालेन साह र रवि लामिछानेको संयुक्त प्रयासलाई जनताले विश्वासमात्र गरेनन्, जनादेश, मतादेश र समर्थन गरिदिएका छन्
बालेन साहले ३७ वर्षका ती काला दिनहरूलाई बिर्साउने गरी काम गर्नुपर्नेछ । काम गरेरै स्थिरता, शान्ति र समुन्नतिको उज्यालो ल्याउनु छ । बिभेद, निषेध र प्रतिषोधका लेउ, काईलाई कोतरकातर पारेर मिल्काउनुछ । संवाद, सहमति र सहकार्यको राजनीतिक संस्कृति बसाल्नुछ । यही संस्कृतिको माध्यमबाट जति पनि राजनीतिक गिजोलिएका मुद्दाहरू छन्, तिनलाई समाधान दिनुपर्नेछ ।
संवाद, सहमति र सहकार्यको संस्कृति बसाल्न र परिवर्तनको अनुभूति गराउन सक्लान् त बालेन साहले ? यसको जवाफ समयले दिनेछ । समयभन्दा बलवान कोही छैन । राजनीति भनेको कहिलेकाहीँ कि त चपरीमुनीको बास, कि हस्तिनापुरको राज बन्नजान्छ ।
यतिबेला बालेन साह र रास्वपा अध्यक्ष रवि लामिछानेलाई हस्तिनापुरको राज मिलेको छ । पुराना दल र नेताहरु किनारा पुगेका छन् । समयलाई के मञ्जुर छ कसलाई के थाहा ? ३७ वर्षमा सत्ता फेरि परिवर्तन भएको छ । राजनीति सधैं परिवर्तनशील हुन्छ । भन्न सकिन्न, जनताको समर्थन चित्त नबुझेको अवस्थामा फेरिन पनि सक्छ । राजनीतिले कोल्टे फेर्न कुनै आइतवार कुरिरहदैन ।
यसकारण बालेन साह सरकारले गर्ने पल पलको कामको समयले खरी घसिरहेको छ । यो कुरा मेयरबाट प्रधानमन्त्री बनेका बालेन साहले नबिर्सियुन् ।



































