राप्रपा बिभाजनको संघारमा : तिन पूर्व अध्यक्षद्धारा बिभाजन रोक्न अपिल
वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०८
shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको विवाद र असन्तुष्टिका बीच पार्टीका तीन पूर्वअध्यक्षहरूले पार्टीको भविष्य उज्ज्वल रहेको भन्दै कार्यकर्तालाई पार्टी नछाड्न र कुनै पनि आत्मघाती कदम नचाल्न आग्रह गरेका छन् ।
पूर्वअध्यक्षहरू पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले शनिबार संयुक्त वक्तव्य जारी गर्दै वर्तमान परिस्थितिबाट विचलित नहुन र पार्टी संगठन निर्माणमा एकजुट भएर लाग्न कार्यकर्तालाई आह्वान गरेका हुन्।उनीहरूले बहुदलीय प्रजातन्त्र पुनर्स्थापनापछि २०४७ साल जेठ १५ गते स्थापना भएको राप्रपाले देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रूपमा भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेका छन् ।
मुलुकले भोगिरहेका विभिन्न संकटबाट मुक्ति दिलाउन राजसंस्थालाई थप सशक्त बनाउने लक्ष्यप्रति आफूहरू प्रतिबद्ध रहेको पनि वक्तव्यमा उल्लेख छ ।संयुक्त वक्तव्यमा पार्टी जीवनमा हार, जीत, उतारचढाव स्वाभाविक हुने उल्लेख गर्दै कठिन र प्रतिकूल अवस्थामासमेत आफ्नो सिद्धान्तप्रति निष्ठावान रहन कार्यकर्तालाई आग्रह गरिएको छ ।
गत निर्वाचनमा अपेक्षाअनुसार सफलता हासिल गर्न नसके पनि पार्टी एकतालाई बलियो बनाएर योजनाबद्ध रूपमा अघि बढे छोटो समयमै उल्लेखनीय सफलता हासिल गर्न सकिने विश्वास व्यक्त गरिएको छ ।तीन पूर्वअध्यक्षले हिन्दुराष्ट्र र राजसंस्थाको पुनर्स्थापनाको एजेन्डा पूरा गर्न सकिने दाबी गर्दै राप्रपाको भविष्य उज्ज्वल रहेको बताएका छन् ।
उनीहरूले अहिलेको परिस्थितिलाई लिएर निराश नहुन तथा पार्टी त्याग्ने वा पलायन हुने सोच नबनाउन कार्यकर्तालाई आग्रह गरेका छन् ।वक्तव्यमा आगामी जेठ अन्तिम साता बस्ने केन्द्रीय कार्यसमितिको बैठकबाट महाधिवेशनको मिति तय गरिने जानकारी दिँदै निर्धारित समयमै महाधिवेशन हुने दाबी गरिएको छ ।
पार्टीभित्र देखिएका समस्या, विकृति र चुनौतीहरूको समाधान महाधिवेशनबाट खोजिने उल्लेख गर्दै नेतृत्वप्रति विश्वास कायम राख्न आग्रह गरिएको छ।पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला तीन पूर्वअध्यक्षको संयुक्त अपिललाई राप्रपाभित्र देखिएको संकट व्यवस्थापन र कार्यकर्तालाई एकताबद्ध राख्ने प्रयासका रूपमा हेरिएको छ ।

































