पर्साका एसपी पाठक काठमाडौंमा तानिए, पर्साको जिम्मेवारी एसपी भट्टराईलाई
वि.सं.२०८३ साउन १३ बुधवार १६:३१
shares

प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सुदीपराज पाठकलाई फिर्ता बोलाएको छ । पर्सा प्रहरीको जिम्मेवारी एसपी पवन भट्टराईलाई दिइएको छ ।
वीरगन्जको नारायणी अस्पतालमा चिकित्सकमाथि भएको साङ्घातिक आक्रमण र स्थानीय प्रशासनको दुर्व्यवहारको विषयलाई लिएर एसपी पाठक आलोचित बनेका थिए । त्यही घटनाको विरोधमा देशभरका चिकित्सकहरू आन्दोलित छन् ।नेपाल चिकित्सक संघको आह्वानमा मंगलबारदेखि शुरू भएको हडतालका कारण देशभरका सरकारी, निजी तथा गैरसरकारी अस्पतालहरूको ओपीडी सेवा पूर्ण रूपमा बन्द भएको छ । जसका कारण देशभरका बिरामीहरू अलपत्र परेका छन् ।
आन्दोलनको शुरूआत गएको साउन ९ गते वीरगन्जको नारायणी अस्पतालमा भएको एउटा घटनाबाट भएको थियो ।उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि आक्रोशित समूहले अस्पताल तोडफोड गर्दै मेडिकल अधिकृत डा. प्रमोद राममाथि आक्रमण गरेको थियो । टाउकोमा गम्भीर चोट लागेका डा. रामको हाल काठमाडौंमा उपचार भइरहेको छ ।यस्तै, साउन ११ गते जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ताका क्रममा पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी उपरीक्षक (एसपी) ले चिकित्सकहरूलाई गालीगलौज र धम्की दिएको आरोप चिकित्सक संघको छ ।
प्रशासनको यो व्यवहारपछि आक्रोशित नारायणी अस्पतालका ६८ जना चिकित्सकहरूले सामूहिक राजीनामा बुझाएका थिए भने चिकित्सक संघले देशभर आन्दोलनको घोषणा गरेको हो ।प्रहरी मुख्यालय स्रोतले भन्यो, ‘तत्कालको परिस्थिति नबुझी चिकित्सकहरूमाथि बलजफ्ती गरेको घटनामा एसपी पाठकको कमजोरी देखिएपछि उनलाई फिर्ता बोलाएर अर्का एसपी भट्टराईलाई जिम्मेवारी दिइएको हो ।’यसअघि भट्टराई जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए ।
परिसरमा भट्टराईको ठाउँमा एसपी दानबहादुर थापालाई जिम्मेवारी दिइएको छ भने पर्साबाट फिर्ता बोलाइएका पाठकलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पठाइएको छ ।





































