प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तामा वाग्ले र सुब्बाको नाम अनुमोदन
वि.सं.२०८३ साउन १३ बुधवार १६:०३
shares

संसदीय सुनुवाई समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की र आयुक्त पदमा गुरु वाग्ले र डा. राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।
बुधबार बसेको समितिको बैठकले संवैधानिक परिषद्बाट सिफारिस भएका तीन जनाको नामलाई अनुमोदन गर्ने निर्णय गरेको हो। प्रस्तावित आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ मंगलबार भएको थियो भने प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको सुनुवाई बुधवार सम्पन्न भएको हो।
समितिका सभापति वोधनारायण श्रेष्ठले सङ्घीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २६ को उपनियम ५ बमोजिम प्रस्तावित नामहरू सर्वसम्मतिले अनुमोदन भएको घोषणा गरे।समितिले अनुमोदनका साथै प्रस्तावित पदाधिकारीहरूलाई उनीहरूले प्रस्तुत गरेको कार्ययोजना परिमार्जन गरी पुनः पेश गर्न निर्देशन समेत दिएको छ।
सुनुवाईका क्रममा सांसदहरूले दिएका सुझावहरूलाई समेट्दै कार्ययोजनालाई थप नतिजामुखी बनाउन समितिले आग्रह गरेको छ।परिमार्जित कार्ययोजनामा स्पष्ट सूचक, समयसीमा, उपलब्धि र ती लक्ष्य हासिल गर्न सघाउने क्रियाकलापहरू स्पष्ट खुलाई समितिमा पेश गर्नुपर्ने निर्णय गरिएको सभापति श्रेष्ठले जानकारी दिए।





































