पूर्वप्रधानमन्त्री माधव नेपाल जोडिएको भ्रष्ट्राचार मुद्धामा अख्तियारका साक्षीको बकपत्र गराउने आदेश
वि.सं.२०८३ साउन २६ मंगलवार १६:२५
shares

काठमाडौं । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपाका सहसंयोजक माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारका साक्षी झिकाउने आदेश भएको छ।
विशेष अदालतका सदस्यद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासमा मंगलबार (साउन २६) पतञ्जली योगपीठ भ्रष्टाचार प्रकरणमा विशेष अदालतमा पेसी तय भएको थियो । उक्त मुद्दामा सुनुवाइपछि इजलासले सरकारी साक्षी (अख्तियार) झिकाउने आदेश दिएको हो ।
अब यो मुद्दामा सरकार पक्षका साक्षी उपस्थित भएपछि भ्रष्टाचार मुद्दामा थप सुनुवाइ अघि बढ्ने भएको छ । यसअघि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाल लगायतमाथि अनुसन्धान गरेर तामेलीमा राख्ने निर्णयको फाइल झिकाउन आदेश दिएको थियो ।
अदालतले अदालतले अख्तियारबाट २०६९/०८/२५ मा भएको निर्णयसहितको फाइल झिकाएको थियो । उक्त फाइल भने अख्तियारबाट अदालतमा आइसकेको छ । अख्तियारले पतञ्जलि योगपीठ जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर ०८२ जेठ २२ मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरेको छ । दुवै पक्षको साक्षी बकपत्र भएपछि अन्तिम सुनुवाइ हुने छ । नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गतेको बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति प्रदान गर्नेगरी भएको निर्णयमा अख्तियारले भ्रष्टाचार दाबी गरेको छ ।
३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना गरी भ्रष्टाचार गरेको अभियोग छ ।





































