रसुवा बाढी : २८ प्रहरी बेपत्ता, को कहाँबाट बेपत्ता भए ?
वि.सं.२०८३ भदौ ११ बिहीवार १३:२४
shares

रसुवामा गएको बाढीले ६ वटा प्रहरी युनिटका २८ जना अझै सम्पर्कमा आएका छैनन् । प्रहरी प्रधान कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी रसुवागढी, प्रहरी चौकी स्यार्पुबेँसी, अस्थायी प्रहरी पोष्ट मैलुङ, प्रहरी चौकी बेत्रावती र प्रहरी चौकी हाकुमा ६४ जना कार्यरत थिए । कार्यरतमध्ये २८ जना अझै सम्पर्कमा नआएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय टमुरेमा कार्यरत २३ जनामध्ये १३ जना सम्पर्कमा आएका छन् । त्यस्तै रसुवागढीमा कार्यरत ९ जनामध्ये एक जना, स्यार्पुबेँसीमा कार्यरत ८ जनामध्ये पाँच, मैलुङमा कार्यरत ८ मध्ये तीन, बेत्रावतीमा कार्यरत १० मध्ये ९ र हाकुमा कार्यरत ६ मध्ये पाँच जना सम्पर्कमा आएको कार्यालयले जनाएको छ ।
प्रहरी केन्द्रीय प्रवक्ता एवं डीआइजी अविनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रमा तीन हजार तीन सय १८ जना प्रहरी खटिएका छन् । हालसम्म १७७ जनाको शव फेला परेको छ । जसमा चितवनमा ६९ वटा, नवलपरासी पूर्वमा ३२ वटा, धादिङमा २७ वटा, गोरखामा २० वटा, नुवाकोटमा १२ वटा, तनहुँमा ९ वटा, नवलपरासी पश्चिममा ६ वटा र रसुवामा दुई वटा शव फेलापरेका छन् ।
डीआइजी काफ्लेका अनुसार ३३ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये टिचिङमा १९ जना, ट्रमा सेन्टरमा ८ जना, वीर अस्पतालमा २ जना, नर्भिक अस्पतालमा २ जना, एक जना मोनमोहन मेमोरियल अस्पताल र अर्का एक जनाको वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।




































