अबुझ किन बुझ्दैन, तातोपानीले घर डढ्दैन
वि.सं.२०८३ असोज १५ बिहीवार ११:३२
shares

रास्वपा र बालेन सरकारलाई अपार जनसमर्थन र अन्तर्राष्ट्रिय समुदायको सहानुभूति छ । यसैले रास्वपालाई खण्डित पार्न र बालेन सरकारलाई ढाल्न एमाले, नेकपाले पूर्व प्रधानन्यायाधीशमार्फत सेटिङ् षडयन्त्र गरेको खुलासा हुनपुग्यो । भनिन्छ, राजनीति भनेको डर्टी गेम हो । बहुदलपछिको ४० वर्ष र लोकतन्त्रपछिको २० वर्ष डर्टी राजनीति गर्नेहरुले जनताले पत्याएको, विश्वले सहानुभूति देखाएको सरकार र पार्टी ढाल्न फेरि डर्टी गेम सुरु गरेछन् ।
प्रम बालेन साहलाई राम्रै थाहा छ, हत्केलामा तोरी उम्रदैन ! विपक्षीले निरन्तर दिइरहेको बचनको चोटबाट लागेको मनको घाउ लुकाएर सुशासनको जग बसाल्न कस्सिएर लागैकै छन् बालेन साह । रास्वपालाई टुक्य्राउन कसैले सक्छ भन्ने लाग्दैन । जसरी राजा फालेर गणतन्त्रको पहिलो राष्ट्रपति बन्न माओवादीले गिरिजालाई ललीपप देखाएर पछि धोका दिएका थिए, त्यसैगरी कम्युनिष्टहरुले यतिबेला रास्वपाका सभापतिलाई प्रधानमन्त्रीको ललीपप देखाएर सार्वजनिक भएको छ । यद्यपि सभापति रविले भनेका छन्, हाम्रो एकता चट्टान हो, कसैले फुटाउन, टुक्य्राउन सक्दैनन् ।
अर्थात् हिराको मोल किराले जान्दैन । ४ दशक देश र जनतालाई लुटेको लुटतन्त्रवादीले रास्वपा, रवि र बालेनको एकता बुझ्न सकेनन् ।
नेपाली समजमा उखान छ, हर्रो नपाउनेलाई जाईफल ! जसलाई भ्रष्टाचारमा जेल हाल्नुपथ्र्यो, उनीहरु न्यायालयसम्म सेटिङ मिलाएर पक्राउमा नपर्ने, पक्राउ परे पनि धरौटीमा छुट्ने, सरकारलाई असफल पार्न अखानो देखाएर अतिप्रचार गरिरहेका छन् । सायद यसैले बालेन सरकारले कडाभन्दा कडा कानुन बनाउन र अदालती सेटिङ नत्यागे त्यस्तामाथि महाभियोग लगाउन समेत हस्ताक्षर संकलन भइरहेको छ ।
पुराना नेताहरुले बुझ्नुपर्छ– सम्धीको निहुँले मलाई पनि घिउले ! भन्ने समय सकियो । जनताको अपेक्षा सुशासन, शान्ति, समृद्धि छ । बाढीपहिरोको बिपद्बाट राहत र पुनस्र्थापना गर्नु छ । सुकुम्वासी, जग्गाविहीनहरुलाई लालपूर्जा दिनुछ । सहकारी, लघुवित्त र मिटरब्याज पीडितहरुलाई न्याय दिनु छ । सरकार यी काम गर्न कटिवद्ध छ र गरिरहेको छ ।
जनताले ५ वर्षका लागि काम गर्ने अवसर दिएका छन् भने त्यो अवसरमा काम गरेर देखाउ भनेर विपक्षी दलहरु किन प्रतिपक्षा गर्न सक्दैनन् ? जनताले किनारा लगाइदिएपछि त कसरी आफ्नो गुमेको विश्वास कायम गर्ने भनेर विपक्षीहरु सुध्रिनु, सच्चिनुपर्ने हो ।
विपक्षी दलहरु जसले जनताको भरोसा तोडे, तिनीहरुको राजनीतिक बुद्धि बंगारो कहिले उम्रेला ?
यी पुराना दलहरु, चटकेहरुले बुख्याँचा र कठपुतलीहरु देखाएर तर्साउने र नचाउने दिन सायद सकियो । अब समय आयो, बुख्याँचा कठपुतलीहरु सावधान हुने ।
अब जनताले बुझिसके, बुख्याँचा र कठपुतली भनेका भ्रम हुन् । भ्रम छर्न खप्पिस राजनीतिक नेताहरुले नेपाली जनताको आँखामा छर्नुसम्म भ्रम छरे । २०४६ सालमा खुलापन, विकास र शान्ति आउँछ भन्दै बहुदलीय परिवर्तन ल्याउन जनताको साथ र सहयोग मागे, जनताले साथ र सहयोग दिए पनि । तर त्यही बहुदलीय १२ वर्षे शासन कालरात्रिका रुपमा बदनाम भयो ।
राजाको हातमा शासन आएपछि बिथोलिएको बहुदलीय पद्धतिलाई ट्य्राकमा ल्याइदिने समय माग्दा राजतन्त्रले त्यो समय पाएन । विदेशी शक्तिसँग हार गुहार गरेर प्रजातान्त्रिक दलहरुले आतंककारी माओवादीसँग मिलेर २०६३ वैशाख ११ गते राजतन्त्रको निरन्तरता रहने भनेर मरेको संसद बिउँताउन राजालाई बाध्य पारेका थिए । राजाले संसद बिउँताइदिएपछि त्यही संसद सुरसाको मुख बन्यो र अन्ततः संविधानसभाको पहिलो बैठक २०६५ जेठ १५ गते अवैधानिक रुपमा गणतन्त्र कार्यान्वयन गरियो ।
समयक्रममा गणतन्त्र र लोकतन्त्र दुबै गाँडतन्त्र र लुटतन्त्रमा रुपान्तरण हुनपुग्यो । १७ वर्षसम्म बुख्याँचा र कठपुतली देखाएर र नचाएर चटके नेताहरुले राजनीतिलाई देश र जनतामाथि शासन गरिरहे । शनैः शनैः बढेको असन्तोषले उग्र रुप लिदै गयो र भोटेकोशीको बाढी आए सरह जेनजी विद्रोहको सुनामी आयो । न गणतन्त्र, न लोकतन्त्र बाँकी रह्यो । हामी नै लोकतन्त्र, हामी नै गणतन्त्र भन्ने पार्टीहरु, राजालाई धोका दिने र अवैध तरिकाले लूट पद्धति ल्याउनेहरु आगो लागेपछि मुसा
पुराना नेताहरु, बुख्याँचा र कठपुतली देखाएर जनता तर्साउने र नचाउनेहरु अरु कोही थिएनन्, शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र बाबुराम भट्टराईहरु थिए । यी नक्कली लोकतान्त्रिक मयुरपंखीहरु विदेशी “डीप स्टेट” द्वारा रोपिएका चटके राजनीतिज्ञहरु थिए । यिनको उपयोगिता सकियो, यिनीहरु म्याद नाघेका औषधिसरह हुनपुगे ।
समयभन्दा बलवान केही छैन, कोही छैन । २०८२ भदौ २३ र २४ को जेनजी विद्रोह, अन्तरिम सरकार र फागुन २१ को निर्वाचनले नयाँ पुस्तालाई राजनीतिमा अवतरण गराएको छ । विपक्षी र आलोचकहरुको आरोप छ, सत्तामा पुगेको नयाँ पुस्तामा रहेको बाह्य प्रभाव शंकारहित छैन, संवेदनशील छ ।
जनता निर्णायक हुन् । जो देशघातक छ, तिनलाई ठेगान लगाउने जनताले नै हो । जो पुराना चटके र भ्रष्ट नेता थिए, जसले बुख्याँचा र कठपुतली देखाएर तर्साउने र नचाउने राजनीति गरेर देशलाई लुटिरहेका थिए, तिनलाई जनताले नै मतदानका माध्यमबाट मौन विद्रोह गर्दै सजाय दिएकै हुन् । नयाँ पुस्तालाई बदनाम गर्न अमेरिकी अनुसन्धानयुक्त मिडिया द ग्रेजोनले सत्तामा पुगेको नयाँ पुस्ताका बालेन शाह, रवि लामिछाने, सुदन गुरुङ र सांसद सागर ढकाललाई “क्याटालिटिक सिभिक लिडर्स” भन्दै तालिम, लगानी गरेको खुलासा गरेको छ । यो मिडिया नेपालीले कहिले सुनेका पनि थिएनन् । एकाएक अहिले नयाँ पुस्तालाई अमेरिकी साँचोमा ढालिएको संशय उत्पन्न गराइदिएको छ । अहिलेसम्म सभापति रवि लामिछाने र प्रम बालेन साहले अमेरिकी प्रभावमा काम गरेको प्रमाणित भएको छैन । तर भरत दाहालजस्ता विश्लेषकले ग्रेजोनकै हवाला दिएर युरोनियम अमेरिकालाई दिइसकेको हल्ला मच्चाइदिए, जसले भरत दाहाल पक्राउ परे, अदालतबाट छुटे । नेपाल सरकारले युरोनियमबारे सामान्य विषयको उठान समेत नभएको बताएको छ ।
प्रष्ट छ, कुनै पनि नेपाली नेता, संस्था, विश्लेषक, अनुसन्धाताले विदेशी वित्तपोषित संस्थासँग प्रम बालेन साहले तालिम लिएको वा त्यसमा संलग्नता भएको प्रमाणित हुनसकेको छैन । हुनसक्छ, कठपुतली नचाउन र बुख्याँचा देखाएर तर्साउँदै लुट्न जानेका पुराना दलहरु रास्वपा र प्रम बालेन साहलाई बदनाम गराउने राम्रो अवसरका रुपमा प्रचारित गरिरहेका छन् ।
रास्वपा र बालेन सरकारले नेपालको राष्ट्रिय हित प्रतिकूल कुनै पनि निर्णय लिएको देखिदैन । उत्तर, दक्षिण वा पश्चिमाको प्रभाव पनि सरकारका निर्णयमा परेको भेउ अझै पाउन सकिएको छैन । सबैको विश्वास छ, प्रम बालेनको नियतमा शंका गर्ने ठाउँ नै छैन । काम कछुवा गतिमा भइरहेको छ, भ्रष्टाचार भएको छैन ।
२०४६ सालमा, जुन संविधानले पञ्चायत बचाउन सकेन, त्यो संविधान फालियो । जुन संविधानले बहुदल चलाउन सकेन, त्यो संविधान पनि फालियो । २०७२ को संविधानलाई जनताले अपनत्व नै लिएनन्, भ्रष्टाचारमात्र बढायो, त्यो संविधानलाई जेनजी पुस्ताले धूलाम्मे पारिदियो । नयाँ संविधान अथवा भएको संविधानमा संशोधन गर्न सुझाव संकलन भइसकेको छ । त्यो अगाडि बढ्न सकेको छैन, पुराना दलहरु पुरानै संविधान ठिक भनेर सुनपानी छर्किनतिर लागेका छन् ।
अहिले पनि देशमा राजतन्त्र र हिन्दुराष्ट्रको मुद्दा बाँकी नै छ । राजतन्त्र पनि राजनीतिक शक्ति नै हो । पूर्वराजाले पटक पटक भनेका छन्– राजनीतिक शक्तिहरुवीच संवाद, सहमति र सहकार्य हुनुपर्छ । यति राम्रो उपाय सुझाउँदा पनि पुराना दलहरुले कानमा तेल हालेर बसेकाले राष्ट्रले राजनीतिक दुर्घटना भोग्नुप¥यो । बाढी पहिरो र भोटेकोशीको महाविपद् थपिएको छ । यो मृत्युको सन्नाटा चिर्नका लागि पनि राजनीतिक शक्तिहरुवीच संवाद, सहमति र सहकार्य जरुरी छ । संविधानमा सुधार अपरिहार्य छ । अन्यथा संवेदनशील राजनीतिक र कूटनीतिक रिक्तता समाप्त गर्न सकिनेछैन । भूराजनीतिले पनि चेप्दै र दपेट्दै आएको छ ।
सबैलाई चेतना भया, अब बुख्याँचा देखाएर तर्साउने र कठपुतली नचाएजस्तो भ्रम छरेर राष्ट्रिय अस्तित्व बचाउन सकिनेछैन । प्रम बालेनले भनेका छन्– मेरो राष्ट्रियतामा शंका गर्नु पर्दैन । यो कुरा हालै राष्ट्रसंघ पुगेर बालेनको लवाई, हावभाउ, अभिव्यक्तिले पनि प्रमाणित गरिसकेको छ कि प्रम बालेन देशभक्त युवा हुन् । विश्वले नेपालको ३५ वर्षे युवाको बोलीमा भरोसा र विश्वास गरेको छ भने नेपालीले विश्वास किन नगर्ने ? प्रतिपक्षी दलहरुले एकदोस्रालाई खुइल्याउन छाडेर, बुख्याँचा र कठपुतलीजस्ता नाच्न छाडेर केही समय बालेन साहलाई किन साथ नदिने ? नेपाल रहे नेपालमा राजनीति जति गरे पनि हुन्छ । पहिले देशको सार्वभौमिकता, स्वतन्त्रता र राष्ट्रिय हितको रक्षा गर्न किन लागि नपर्ने ? अभिभावकीय जिम्मेवारीका लागि र राजसंस्थालाई पुनःस्थापित किन नगर्ने ?
राजाहरुले जनतासँग मिले नेपाल निर्माण गरेका हुन् । नबिर्सौ, सोचौं, गम्भीर भएर सोचौं । आउने पुस्ताका लागि पनि सोचौं । आफ्नै अस्तित्वका लागि सोचौं । यो निर्णायक समय हो ।
समयले सुनौलो अवसर दिएको छ, सबै राजनीतिक शक्तिहरु एक हौं, अग्रगमनको नयाँ यात्रा सुरुगरौं ।
अबुझ किन बुझ्दैन, तातोपानीले घर डढ्दैन ?


































