एकै ठाउँमा उभिएर जनताको हितमा लाग्नुको विकल्प छैन
एकै ठाउँमा उभिएर जनताको हितमा लाग्नुको विकल्प छैन
वि.सं.२०८३ कात्तिक ९ सोमवार १४:५०
shares

नेपाली कांग्रेसको महाधिवेशन समाप्त भएको छ । महाधिवेशले १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका गगन थापालाई कांग्रेसको विशेष महाधिवेशनले सभापतिमा निर्वाचित गरेको थियो । विशेष महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा पक्षीय धेरै नेताहरुले भाग लिएका थिएनन् भने सो विषय अदालतसम्म पुगेको थियो । सर्बोच्च अदालतले निर्वाचन आयोगले विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका गगन थापा पक्षलाई नै आधिकारिकता दिएपछि देउवा पक्षका केही नेताहरु थापा पक्षमा गएका थिए । १५ औं महाधिवेशन पक्षधर थापा पक्षका नेताहरुले देउवा पक्षका नेताहरुलाई समेत सम्मानजनक ढँगबाट पदमा पु¥याउने बताउँदै आएका भएपनि निर्वाचन परिणामले त्यस्तो देखाएको छैन । सभापतिमा निर्वाचित हुनु अघि नै थापाले देउवा पक्षका नेताहरुलाई विशेष महाधिवेशनमै आउन आग्रह गरेका थिए । त्यसबेला केही व्यक्तिहरु थापा पक्षमा आएका र विशेष महाधिवेशनपछि पनि देउवा पक्षबाट थापा पक्षमा आएका व्यक्तिहरु १५ औं महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार भएका भएपनि ती प्रायः सबै पराजित भएका छन् ।
नेपाली कांग्रेस जस्तो पुरानो पार्टी पटक पटक विभाजित हुँदे पुन एकजुट हुँदै आएकोमा अहिलेको जस्तो जलिट परिस्थितिमा पार्टी नै विभाजित हुनु र पार्टीका वरिष्ठ नेताहरु १५ औं महाधिवेशनमा उपस्थित नहुनुले पार्टी विभाजनको अवस्थामा पुगेको छ । देउवा पक्षले समेत मंसिरमा १५ औं महाधिवेशन गर्ने गरी विभिन्न जिल्लामा जिल्ला अधिवेशन, वडा अधिवेशन सम्पन्न गरिसकेको छ भने मंसिरमा महाधिवेशन गर्ने पक्का पक्की रहेकाले गर्दा कांग्रेस विभाजनको मुखमा पुगेको छ ।
पुराना भनिएका दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी जसो तसो संसदमा पुगेका भएपनि यस अघिका जसपा, जनमत लगायतका अन्य स–साना पार्टीहरु संसदमा पुग्न असफल रहेका र संसदमा रास्वपाको झण्डै दुई तिहाई मत रहेको अवस्थामा कांग्रेस, एमाले कमजोर अवस्थामा पुग्नु भनेको लोकतन्त्रकै लागि खतराको संकेतका रुपमा लिइनु पर्दछ । पुराना दलहरुले आफूहरुमाथि लागेको आरोपका विश्वसनिय जवाफ जनतालाई दिन नसकिरहेका बेला पार्टीहरु नै विभाजनको अवस्थामा पुग्नु पार्टीहरुका लागि मात्रै नभएर मुलुक र जनताकै लागि अभिषाप बन्न सक्ने सम्भावना देखिएको छ ।
रास्वपा नेतृत्वको बालेन सरकार प्रतिशोधको राजनीतिमा सक्रिय भएको छ । प्रतिशोधपूर्ण व्यवहार सबै क्षेत्रमा देखिएको छ । निजी सञ्चार क्षेत्रमा नाकाबन्दी लगाइएको छ । सरकारी विज्ञापन निजी क्षेत्रका सञ्चार माध्यमलाई दिन बन्द गरिएको छ भने २०१६ सालदेखि दिँदै आएको लोककल्याणकारी विज्ञापन बन्द गराउने षड्यन्त्रले गर्दा निजी क्षेत्रका सञ्चारमाध्यमलाई दिइने लोककल्याणकारी विज्ञापनको रकम झण्डै आधा कटौती गरिएको छ । यसरी सरकारले राजनीतिक क्षेत्र लगायत कर्मचारीतन्त्र निजी क्षेत्रका सञ्चारमाध्यममाथि प्रहार गरिरहेको अवस्थामा दलहरु कमजोर अवस्थामा पुग्नु भनेको लोकतन्त्र र लोकतान्त्रिक व्यवस्थाकै लागि घातक सावित हुन सक्छ ।
रास्वपा नेतृत्वको बालेन सरकार २०८२ चैत्र १३ गते गठन भएकै दिनदेखि नै प्रतिशोधको राजनीतिमा उत्रिएको थियो । बालेन प्रधानमन्त्रीमा नियुक्त भएकै दिनको मन्त्रिपरिषद्को बैठकले पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने निर्णय गरेर उनीहरुलाई पक्राउ गरी प्रतिशोधको राजनीतिमा उत्रिएको र हालसम्म पनि त्यस्तो कार्य जारी रहेको छ । रास्वपा सभापति रवि लामिछानेले प्रतिशोधको राजनीति नगर्ने उद्घोष गरेपनि त्यो देखापटी मात्र भएको छ । सबै राजनीतिक दलहरु एकै ठाउँमा उभिएर मुलुकका समस्याहरु समाधान गर्ने कार्यमा सक्रिय हुनुपर्नेमा अहिलेसम्म त्यस्तो अवस्था देखिएको छैन भने सरकार र रास्वपाको पुराना भनिएका दलहरुले केही गरेनन् भन्ने गलत भाष्य बनाएर जनतालाई आफ्ना पक्षमा जबरजस्त उभिन बाध्य बनाउने कार्यमा सक्रिय देखिएकोले गर्दा लोकतान्त्रिक व्यवस्थाकै धज्जी उडाइँदै आएको छ ।
जनताले दिएको मत निश्चित समयका लागि मात्र हुन्छ एक पटक बहुमत पाएर सरकार निर्माण गर्दैमा त्यो सँधैभरीका लागि हुन सक्दैन भन्ने प्रमाण त पटक पटक बहमुत ल्याएका दलहरुले समेत निश्चित समयसम्म सरकार सञ्चालन गर्न सकेको इतिहास अहिलेसम्म देखिएको छैन । कांग्रेसले पटक पटक बहुमत पाएर एकलौटी सरकार निर्माण गरेको भएपनि उसले पाँच वर्षसम सरकार सञ्चालन गर्न सकेको इतिहास छैन भने रास्वपाले अहिलेकै अवस्था कायम रहेको अवस्थामा पाँच वर्षसम्म सरकार सञ्चालन गर्न सक्छ भने ग्यारेन्टी छैन÷देखिँदैन ।
लोकतान्त्रिक व्यवस्थामा दलहरु सत्तामा पुग्न र सत्ता बाहिर रहनु लोकतान्त्रिक पद्दति नै भएपनि सबै दलहरु देश विकास र जनताको हितमा एकै ठाउँमा उभिनुपर्नेमा बहुमतको दम्भ देखाएर रास्वपा एक्लै अघि बढ्न खोज्नु रास्वपा स्वयम् र मुलुककै लागि घातक सावित हुन सक्छ । त्यस कारणले गर्दा समयमै सबै दलहरु एकै ठाउँमा उभिएर प्रतिशोधको राजनीतिक बन्द गर्दै जनताको हितका लागि र देश विकासका लागि अघि बढ्नु अहिलेको आवश्यकता भएको हामीले ठानेका छौँ ।


































