जनकपुर बोल्ट्स सामु १३३ रनको लक्ष्य
वि.सं.२०८३ कात्तिक १० मंगलवार १९:२५
shares

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनायो ।कर्णालीका ओपनर अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए । उनले २९ बलमा ४ चौका प्रहार गरे । कर्णालीले सुरुवातबाटै विकेट गुमाउन पुग्यो । पहिलो ओभरको अन्तिम बलमा कर्णालीका ओपनर मार्क वाट एक रन जोडेर पभेलियन फर्किए । ४ रनमा पहिलो विकेट गुमाएको कर्णालीले थप १४ रन जोड्दो दोस्रो विकेट गुमाउन पुग्यो ।
डेब्यु गरेको जनकपुरका आइकोनिक प्लेयर राहुल यादवले पहिलो बलमै विकेट लिँदै दीपक डुम्रेलाई १३ रनमा आउट गराए । कर्णालीले ३७ रन जोड्दा तेस्रो विकेट गुमायो । हुसेन तलत ३ रन जोडेर आउट भए । त्यसपछि पवन सर्राफ र अरिफुल इस्लामले कर्णालीको ब्याटिङ उकास्ने प्रयास गरे । उनीहरुले चौथो विकेटका लागि ४२ रनको साझेदारी गरे ।अरिफुल २९ बलमा ४३ र पवन ३७ बलमा ३७ रन बनाएर आउट भए । त्यसपछि अक्बर अली एक, कप्तान सोमपाल कामी एक र गुल्सन झाले १२ रन बनाए । नन्दन यादव ९ रनमा आउट हुँदा युवराज खत्री र युनिश ठकुरी अविजित रहे । बलिङमा जनकपुरका कप्तान हर्मीत सिंहले ३ विकेट लिए ।





































