सुदूरपश्चिमलाई पहिलो क्वालिफायरमा ६ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी एनपीएलको तेस्रो संस्करणको फाइनलमा प्रवेश
वि.सं.२०८३ मंसिर १ मंगलवार २०:३२
shares

काठमाडौं । निरोसन डिकवेलाको अर्धशतक मद्दतमा सुदूरपश्चिम रोयल्सलाई पहिलो क्वालिफायरमा ६ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ ।
सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले २० बल अगावै ४ विकेट गुमाएर लक्ष्य पूरा हो ।लुम्बिनी लगातार दोस्रो पटक फाइनल पुग्दै उपाधि रक्षा अभियानको नजिक पुगेको छ । दुई पटकको उपविजेता सुदूरपश्चिम भने पहिलो पटक क्वालिफायरमा पराजित भएको हो ।
हारका बाबजुत पनि सुदूरपश्चिमले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ । एलिमिनेटरमा बुधबार काठमान्डु गोर्खाज र चितवन राइनोज भिड्नेछन् ।लुम्बिनीको लागि विकेटकिपर डिकवेलाले ३७ बल खेल्दै ७ चौका र २ छक्का मदतमा अविजित ५९ रन जोडे । यस्तै कप्तान रोहित पौडेलले २८ बल खेल्दै १ चौका मदतमा २१ रन योगदान गरे ।
२४ रनमा २ विकेट गुमाएको लुम्बिनीका लागि डिकवेला र कप्तान रोहितले ३८ रनको साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए ।ओपनर डार्शी सर्ट शुन्यमा आउट हुँदा आसिफ शेख ४ रन मात्र बनाएर आउट भए । विजयी छक्का प्रहार गरेका दिलीप नाथले १२ बलमा अविजित १० रन बनाए ।सुदूरपश्चिमका थरिन्दु रत्नायकेले २ तथा स्कट कुगेलेइन र हेमन्त धामीले १-१ विकेट लिए । सन्दीप जोरा ८ रनमा आउट भए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा लुम्बिनीले टस जितेर बलिङ रोजेपछि पहिला ब्याटिङ ब्याटिङ गरेको सुदूरपश्चिमले ८ विकेट गुमाएर १०५ रन बनाएको थियो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रले सर्वाधिक ५२ रन बनाए । उनले अन्तिम ओभरमा आउट हुनुअघि ५१ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । टिमको स्कोर ८ रन हुँदा चौथो ओभरमै क्रिजमा पुगेका दीपेन्द्रले इशान पाण्डेसँग मिलेर अर्धशतकिय साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए ।
यो जोडीले चौथो विकेटका लागि ६४ रनको महत्वपूर्ण साझेदारी गरे । इशान पाण्डेले २७ रन योगदान गरे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।


































