लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीको राजीनामा माग्यो एमालेले
वि.सं.२०७८ चैत १६ बुधवार १४:४५
shares

काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा मागेको छ । लुम्बिनी प्रादेशिक अस्पतालको भवनको ठेक्कामा मिलेमतो गरेको भन्दै एमाले संसदीय दलले मुख्यमन्त्री केसीको राजीनामा मागेको हो ।
१२०० शय्याको १० तले अस्पताल भवन बनाउन करिव डेढ अर्ब घोटाला गर्ने गरी स्पेसिसिकेसन बनाएर ठेक्का लगाइएको थियो । सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का प्रक्रियामा त्रुटि भेट्टाए पछि १४ चैतमा ठेक्का रद्द गरिएको थियो ।
पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले राजीनामा दिएका छन् । तर ठेक्का प्रक्रिया रद्द र कार्यकारी अधिकृतको राजीनामाले सरकारको कुनियत हट्न नसक्ने एमालेको ठहर छ । बुधबार आयोजित पत्रकार संसदीय संसदीय दलका उपनेता बैजनाथ चौधरीले भने, ‘ठेक्का प्रक्रियामा सेटिङ भएको भन्दै प्रदेश पूर्वाधार विकास समितिको अध्यक्षको हैसियतले यस सेटिङमा मुख्य जिम्मेवार कुलप्रसाद केसी हुनुहुन्छ ।’
अब केसी मुख्यमन्त्री पदमा बसिरहन नैतिक रुपमा नमिल्ने एमालेले बताएको छ । ‘अस्पतालको भवन निर्माणका लागि निर्माण कम्पनी छनोट गर्दा जुन मापदण्ड तयार गरियो, त्यस वेला देखि नै सेटिङ रहेको प्रष्ट नै भएको छ, त्यसैले मुख्यमन्त्री पदमा बसिरहन नैतिक रुपले नमिल्ने भएकाले तत्काल पद बाट राजीनामा दिनुपर्छ,’ एमालेले भनेको छ ।





































