नेकपा एमाले नयाँ बर्ष २०७९ मा पार्टी कार्यालय सर्दै, कार्यालय भब्य संग सिघारिदै
वि.सं.२०७८ चैत २१ सोमवार १७:२४
shares

काठमाडौं । नेकपा (एमाले)को मुख्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको छ। ठाउँ अभावका कारणले अहिले रहेको थापाथली बाट एमाले मुख्यालय ललितपुर स्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको हो। कार्यालय सचिव डा. भीष्म अधिकारीले नयाँ वर्षका अवसरमा आगामी वैशाख १ गते पार्टी कार्यालय सर्ने जानकारी दिएका छन्।
कार्यालय सञ्चालनका लागि पार्टीले अहिले रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानको पूरै भवन भाडामा लिएको छ। तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय भने अहिलेको भवन बाट पश्चिम तिर नयाँ भवन बनाइएको छ। एक वर्ष अघि मात्र धुम्बाराही स्थित पासाङल्हामु स्मृति प्रतिष्ठान बाट थापाथलीमा सरेको थियो। नयाँ सार्न थालिएको तुल्सीलाल स्मृति भवनलाई पुनःनिर्माण गरेर अत्याधुनिक बनाउन थालिएको छ। अहिले धमाधम अत्याधुनिक कक्ष निर्माण गर्नुका साथै भवनको रङरोगन समेत भइरहेको छ।
उनका अनुसार नयाँ भवनमा पार्टी सञ्चालनका लागि ७३ कार्यकक्ष निर्माण भइरहेका छन्। पार्टी पदाधिकारी, आयोग र विभागका लागि छुट्टाछुट्टै कार्यकक्ष बनाउन थालिएको छ। भुइँ तलामा १३, पहिलो तलामा १३ र दोस्रो तलामा ४७ कार्यकक्ष बनिरहेको भवन निर्माण कमिटीका सदस्य पहाडीले जानकारी दिए। उनका अनुसार नयाँ भवनमा एक ठूलो सभा हल र तीन सभाकक्ष रहने छ। पार्टी केन्द्र्रीय कमिटी बैठक बस्नका लागि ५०० जना क्षमताको ठूलो हल निर्माण गरिएको छ। तीन महिना लगाएर प्री-इञ्जिनीयर्ड पोर्टल संरचना विधि अनुसार उक्त ५०० क्षमताको हल भवनको पश्चिम तिर बनाउन थालिएको विभागका सदस्य पहाडीले बताए।
यसैगरि मदनभण्डारी स्मृति कक्ष, पुष्पलाल स्मृति कक्ष र मनमोहन स्मृति कक्ष पनि नयाँ कार्यालयमा बनाइएको छ। एमालेले तुल्सीलाल स्मृति प्रतिष्ठान सँग पाँच वर्षका लागि भवन भाडामा लिएको छ। यसैगरि नयाँ सर्न थालिएको भवनमा अध्यक्ष सहित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवका लागि छुट्टाछुट्टै कक्ष निर्माण गरिएको छ।पार्टी अध्यक्ष र महासचिवको कक्ष पहिलो तलामा रहने छ भने दोस्रो तलामा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव र सचिवको कार्यकक्ष रहने छ। पार्टी अध्यक्षको कार्यकक्षमा अध्यक्षले नियमित बैठक गर्न अलग्गै कक्ष समेत बनाइएको उनले जानकारी दिए।
पार्टी अध्यक्ष र महासचिव रहेको पहिलो तलामा नै मदन भण्डारी स्मृति कक्ष (अति विशिष्ट कक्ष) बनाइएको छ। उक्त कक्षमा पार्टी अध्यक्ष सँग जोडिएका महत्वपूर्ण बैठक र विशेष बैठक हुनेछन्। त्यस्तै पहिलो तलामा नै पार्टीको सचिवालय, स्थायी र पोलिटब्युरो बैठक गर्नका लागि पुष्पलाल स्मृति कक्ष बनाइएको छ। उनका अनुसार भुइँ तलामा अत्याधुनिक प्रविधिमैत्री मनमोहन स्मृति कक्ष (डिजिटल कक्ष) बनाइएको छ। उक्त कक्ष बाट पार्टीको महत्वपूर्ण विषय सार्वजनिक गर्न र भर्चुअल रुपमा सात वटै प्रदेशबाट प्रशिक्षण सञ्चालन गर्न सकिन्छ। भुइँ तलामा नै कार्यालय सचिव, कार्यालय र तुल्सीलाल स्मृति केन्द्रीय पुस्तकालय रहने छ।
पहिलो तलामा नै आर्थिक विभाग, प्रचार तथा प्रसार विभाग, विदेश विभाग, सङ्गठन विभाग र सल्लाहकार परिषद्का कार्यकक्ष रहनेछन्। त्यस्तै दोस्रो तलामा अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग सहित विभागका कार्यकक्ष रहनेछन्।







































