अमेरिकाको नेपाललाई ६५९ मिलियन डलर अर्थात् ७९ अर्ब ७१ करोड रुपैयाँ आर्थिक सहयोग अनुदान
वि.सं.२०७९ वैशाख २२ बिहीवार १९:४६
shares

काठमाडौं ।अमेरिकाले नेपाललाई एमसीसी भन्दा पनि ठूलो आर्थिक सहयोग दिने भएको छ । बिहीबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा अमेरिकी अन्तर्राष्ट्रिय आर्थिक सहयोग नियोग (यूएसएआईडी) का प्रतिनिधिले नेपाललाई ६५९ मिलियन डलर अर्थात् ७९ अर्ब ७१ करोड रुपैयाँ आर्थिक सहयोग अनुदान स्वरुप उपलब्ध गराउने घोषणा गरेका हुन् ।
अनुदान सहयोग सम्बन्धी सम्झौता पत्रमा युएसएआआइडीका निर्देशक सेपिदेह केवंशद र नेपालको तर्फ बाट अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख ईश्वरीप्रसाद अर्यालले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार यस आर्थिक सहयोगले नेपालको समग्र आर्थिक सामाजिक स्तरको वृद्धि विकास सँगै प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको जोखिममा रहेका समुदायको प्रतिरोधात्मक क्षमता बढाएर नेपालको दिगो विकासमा सहयोग पुर्याउने लक्ष्य लिएको छ ।
साथै, यस सहयोगले मुलुकको गुणस्तरीय शिक्षा एवं स्वास्थ्य प्रणाली, दिगो ऊर्जा र कृषि विकासमा समेत उपयोगी सुधार ल्याई समग्र नेपालको आर्थिकस्तर नै माथि उठाएर मुलुकलाई विकासशील मुलुक बाट मध्य आयुक्त मुलुकमा स्तरोन्नती गराउने अपेक्षा गरिएको छ । नेपाल–अमेरिका संयुक्त यस परियोजनाको समयावधि पाँच वर्षको हुने सहमतिपत्रमा उल्लेख गरिएको छ ।




































