दलहरुकै कारण बालेन साह जन्मिए
वि.सं.२०७९ जेठ ६ शुक्रवार १०:३८
shares

काठमाडौ । यस पटकको स्थानीय तहको निर्वाचनमा काठमाडौा निकै कम मतदाताले मात्र आफ्नो मत प्रयोग गरेका छन् । सबै सुविधा सम्पन रहेको मुलुकको संघीय राजधानीमा नै ६०÷६४ प्रतिशत मात्र मतदान हुनु भनेको राजनीतिक दलहरुका लागि लाजमर्दो विषय हो ।
राजनीतिक दलले जनताप्रति गर्ने व्यवहार र पहिला २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा जनतालाई दिएका आश्वासनहरु पूरा नगरेका हुनाले जनताले मतदानमा भाग नलिएका हुनु ।
ठुला भनिएका राजनीतिक दलहरुले जनतालाई प्रयोगमात्र गरेर आफ्नो स्वार्थ पूरा गर्ने गरेका हुनाले यस पटक धेरै निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरु रहेका र काठमाडौमा मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले काठमाडौबासीको राम्रो सहयोग पाएका छन् ।
उनले ठुला भनिएका कांग्रेस, एमाले र माओवादी केन्द्रलाई नराम्रो थप्पड हानेका छन् । काठमाडौ महानगरपालिकामा समेत पाँच दलीय गठबन्धनको गठबन्धन नै गरेर मेयर उपमेयर सहित वडाध्यक्षहरु समेत भागवण्डा गरेको भएपनि पाँच दलीय गठबन्धनका मेयरका उम्मेदवार भन्दा बालेन साहले अहिले सम्म झण्डै दोब्बर मत ल्याएका छन् भने एक्लै निर्वाचन लडेको नेकपा एमालेका उम्मेदवारले साहलाई पछ्याईरहेका छन् ।
यस पटकको निर्वाचनमा दुर्गम जिल्लाहरुमा ७०÷७५ प्रतिशत मतदान भएपनि काठमाडौमा किन कम मतदान भयो भनेर राजनीतिक दलहरुले अब त्यसको खोजविन गर्नुपर्ने अवस्था देखिएको छ । राजधानीबासीलाई जहिलेसुकै झुठा आश्वासनहरु बाँडेर आफ्नो स्वार्थ पूरा गर्दै आएका दलहरुलाई राजधानीबासीले यस पटक राम्रो पाठ पढाएका छन् ।
त्यसको प्रत्यक्ष प्रमाण हुन् बालेन साह । एउटा व्यक्तिले दलहरुसँग भिडेर स्वतन्त्रको हैसियतमा रहेर दलका उम्मेदवारहरुलाई पछाडि धकेल्नु भनेको राजनीतिक दलहरुलाई जनताको खुल्ला च्यालेन्ज हो । राजनीतिक दलहरुले युवायुवतीलाई विश्वासमा लिन नसक्नु र उनीहरुको भावना र आवश्यकता अनुसार पार्टी सञ्चालन हुन नसक्नुले गर्दा दलहरुलाई सबक सिकाउनैका लागि पनि साहलाई मतदान गरेका हुनाले अब राजनीतिक दलहरुले आफूहरुले गरेका गल्ती कमी कमजोरी नसच्चाएको खण्डमा अरु थुप्रै बालेन साह जन्मिन सक्छ भन्ने हेक्का दलहरुमा होस् ।





































