प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुर बीच भेटवार्ता
वि.सं.२०७९ जेठ २१ शनिवार १६:५७
shares

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरबीच बालुवाटारमा भेटवार्ता जारी छ । पाँच दलीय गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउने चहलपहल सुरु भएका बेला प्रधानमन्त्री देउवाले लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई आफ्नो निवासमा बोलाएर छलफल गरेका हुन् । कात्तिक–मंसिरमा हुने संघ र प्रदेशको चुनावमा सहकार्य गर्ने बारेमा प्रधानमन्त्री देउवा र ठाकुरबीच छलफल भैरहेको बताइएको छ ।
आफूहरुले विगत देखि राख्दै आएको नागरिकताको समस्या, संविधान संशोधन, मुद्दा फिर्ता लगायतका माग सम्बोधन गरे मात्र सत्ता पक्षसँग सहकार्य हुन सक्ने धारणा राख्ने कुरा पार्टीलाई जानकारी गराएर अध्यक्ष ठाकुर बालुवाटार गएका हुन् ।
आजै लोसपा पार्टी कार्यालयमा कार्यकारिणी समितिको बैठक राखिएको थियो । सो बैठकमा आफू प्रधानमन्त्री देउवा सँग भेट्न गइरहेको र त्यहाँ लोसपाले विगत देखि उठाउँदै आएका मागका विषयमा कुरा राख्ने जानकारी नेताहरुलाई ठाकुरले गराएका थिए ।
पार्टीको मागका विषयमा देउवा र ठाकुर बीच छलफल हुने सो पार्टीका कार्यकारिणी सदस्य अकवाल अहमदले बताए । उनले भने, ‘प्रधानमन्त्री देउवा सँग हाम्रो पार्टीको अध्यक्ष महन्थ ठाकुरजीले विगत देखि उठाउँदै आएका नागरिकता र संविधान संशोधनका लगायतका माग किन पुरा भएन त्यसलाई छिटो पुरा गराउन पहल गर्न आग्रह गर्नुभएको छ ।’






































