kumari
stcnepal

वर्षायामको थप १११ मेगावाट विद्युत निर्यातको प्रस्ताव भारत पठाइयो

काठमाडौं ।नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वषर्यामको थप १११ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धा मार्फत बिक्रीको लागि भारतमा प्रस्ताव पठाएको छ । प्राधिकरणले ४ जलविद्युतगृह बाट उत्पादित विद्युतलाई स्रोत मानी आईएक्समा प्रतिस्पर्धा बाट बिक्रीका लागि भारत सरकारको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको हो । केन्द्रीय विद्युत प्राधिकरण बाट अनुमति पाएपछि थप विद्युत निर्यात सुरु हुने छ । अहिले ३६४ मेगावाट बिजुली भारतमा विक्री भइरहेको छ ।

प्राधिकरणले ४२ मेगावाटको मिस्त्री खोला, २४.२ मेगावाटको लिखू खोला ‘ए’, २३.५ मेगावाटको सोलू खोला, २२.१ मेगा वाटको चिलिमेको विद्युगृ हबाट उत्पादित १११.८ मेगावाट विद्युत निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेश गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले थप विद्युत निर्यातका लागि भारत सरकार बाट छिट्टै अनुमति प्राप्त हुने विश्वास व्यक्त गरे । चालु आर्थिक वर्ष (आव) २०७९/८०को पहिलो महिनामा झण्डै २ अर्ब रुपैयाँको विद्युत भारत तर्फ निर्यात गरिसकेको छ । नेपाल विद्युत प्राधिकरणले चालु आवको साउन महिनामा १ अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत निर्यात गरेको छ ।

प्राधिकरणले देश भित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत साउनमा भारत तर्फ निर्यात गरेको हो । विद्युत निर्यात बाट साउनमा औसतमा दैनिक ५ करोड ९३ लाख रुपैयाँ कमाएको छ । प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठ बाट इन्डियन इनर्जी आइएक्सको डे-अहेड बजारमा प्रतिस्पर्धा मार्फत बिक्री सुरु गरेको थियो । सुरुमा दुई वटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा आईएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठ बाट दैनिक रुपमा ६ वटा जलविद्युतगृह बाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री हुँदै आएको छ ।

आईएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक-फरक हुने गरेको छ । गत आव २०७८/७९मा ३ अर्ब ८८ करोड रुपैयाँको विद्युत निर्यात भएको थियो । ढल्केबर-मुजˆफरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन मार्फत विद्युत निर्यात भइरहेको छ । गत आवमा प्राधिकरणको सौर्य प्लान्ट, माथिल्लो तामाकोशी र निजी क्षेत्रका जलविद्युत तथा सौर्य आयोजनाको कुल ७३५ मेगावाट विद्युत प्रणालीमा थप भएको थियो । यो सँगै वर्षायाममा देश भित्रको माग भन्दा बढी उत्पादन गर्न सकिने अवस्था आएकोले भारतीय बजारमा प्रतिश्पर्धा मार्फत विद्युत बिक्री गर्न सफल भएको प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘विद्युत निर्यात वृद्धि हुँदा प्राधिकरणको आर्थिक अवस्थामा सुधार आउनुका साथै हाम्रो देशको विदेशी मुद्रा सञ्चितीमा वृद्धि भई राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुगेको छ, दुई मुलुक बीचको व्यापार घाटालाई समेत केही कम गर्न सहयोग भएको छ’, कार्यकारी निर्देशक घिसिङले भने । मुलुकमा विद्युत उत्पादन दिनानुदिन थप हुँदै गइरहेको हुँदा घरायसी खपत र औद्योगिक खपत बढाउन आवश्यक छ, यसका लागि प्रसारण तथा वितरण लाइनको विकास र सुधार गर्नुका साथै उद्योगीले बिशेष सेवा र सुविधा प्राप्त गर्ने ब्यवस्था मिलाइने उनले बताए ।खपत नभएको बिजुली निर्यातको विकल्प नरहेको उनको भनाइ छ ।

‘नेपाल र भारतको बिहार राज्य बीच विद्युत आदान-प्रदान गर्न निर्माण गरिएको १३२ केभी प्रसारण लाइनको पूर्ण सदुपयोग हुने गरी वषर्याममा बचत भएको विद्युत उत्तर बिहार पावर वितरण कम्पनी बाहेका निकायहरुलाई समेत बिक्री गर्न भारत सरकारका सम्बन्धित निकायहरु सँग आवश्यक भइरहेको छ’, उनले भने । भारतको केन्द्रीय विद्युत् प्रणाली अन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा विद्युत बिक्री गरिन्छ छ । प्राधिकरणले हरेक दिन बिहान १० बजे देखि मध्यान्न १२ बजे सम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युतको परिमाण सहित बिडमा प्रतिस्पर्धा छ ।

विद्युत प्रणाली मार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रति युनिट बिक्री दर तय हुन्छ । प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजे देखि अर्को दिनको रातको १२ बजे सम्म अर्थात २४ घण्टा विद्युत निर्यात गरिन्छ । प्राधिकरणको तर्फ बाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपाल सँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत व्यापार निगम (एनभीभीएन)ले गर्छ छ । एनभीभीएनले हरेक दिनको कारोबार सम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउँछ ।

footer