अवैध संरचना बनाउने साना ठूला कसैलाई पनि छाड्ने छैन : मेयर साह
वि.सं.२०७९ भदौ ८ बुधवार १३:५७
shares

काठमाडौं ।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सबै खाले अवैध संरचना हटाएरै छाड्ने बताएका छन् । बुधबार काठमाडौंको न्यूरोड क्षेत्रमा अवैध संरचना हटाउन आफैं फिल्डमा पुगेका उनले अवैध संरचना बनाउने साना ठूला कसैलाई पनि नछाड्ने बताए ।
अवैध संरचनामा डोजार नचलाउन अनुरोध गर्दै आएकाहरुलाई उनले भने, ‘काठमाडौं जिल्ला अदालतको समेत खाली गराइँदै छ,’ उनले थपे, ‘अवैध संरचना जसले बनाएको भए पनि त्यो कानुनको दायरामा ल्याइन्छ ।’ बबरमहलमा अत्याधुनिक शैलीमा बनाइएको अदालतको अन्डरग्राउन्ड पार्किङको प्रयोगमा छैन । जसका कारण व्यस्त सडकको फुटपाथमै सेवाग्राहीले सवारी साधन पार्किङ गरिरहेका छन् ।
जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले अदालतको भुइँ तल्लामा दसीका रुपमा आएका सवारी साधनहरु रहेको बताए । ‘अदालतमा दसीका रुपमा आएका सामानले पार्किङ भरिएको छ,’ उनले थपे, ‘महानगर बाट यसबारे जानकारी माग भएको छ । दुई जना कर्मचारी पनि आउनु भएको थियो ।’



































