यो देशमा एमाले भन्ने पार्टी पनि छ प्रधानमन्त्रीजी : ओली
वि.सं.२०७९ भदौ ८ बुधवार १३:४५
shares

काठमाडौं ।प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओली हत्तपत्त बालुवाटार जाँदैनन् । बुधबार बिहान उनी उपाध्यक्षहरु सुवास नेम्बाङ र विष्णु पौडेलसहित प्रधानमन्त्रीको सरकारी निवासमा जाँदा प्रधानमन्त्री शेरबहादुर देउवा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहित पर्खिरहेका थिए । ओलीले सुरुमै चारबुँदा राखे । चुनाव, टीआरसी, नागरिकता विधेयक र मूल्यवृद्धि । तर दोस्रो बुँदा बाट कुरा थाले ।
सहभागी नेता विष्णु पौडेलले सुनाए अनुसार ओलीले भने, ‘यो देशमा एमाले भन्ने पार्टी पनि छ प्रधानमन्त्रीजी । यो कुरो बिर्सेर टीआरसीमा मनलाग्दी गर्ने ?’ बैठकमा सहभागी अर्का नेताका अनुसार सरकारले प्रतिनिधि सभामा हालै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण मेलमिलाप आयोगको ऐनको संशोधन सम्बन्धी विधेयक छलफलका लागि पेश गरे पनि तार्किक निष्कर्षमा पुग्नेमा एमालेले आशंका गरेको छ । ‘सरकारले यस्तो संवेदनशील विधेयक ल्याउँदा प्रमुख प्रतिपक्षी सँग छलफल गर्नुपर्ने होइन र ? कि एक्लै हिँडेर पुगिन्छ भन्ने तपाईंलाई परेको हो ?’ ओलीले देउवालाई भनेको उद्धृत गर्दै ती नेताले सुनाए ।
ओलीले चुनाव विश्वसनीय हुनेमा आशंका पैदा भएको, सत्ता गठबन्धनले दम्भ देखाएको आरोप लगाए । देउवाले उनलाई बीचैमा रोक्दै त्यस्तो कल्पना नगर्न आग्रह गरे । ‘कसैले भाषणमा के के बोल्यो होला, तर त्यसलाई इस्यु बनाइदिन भएन नि,’ देउवाले ओलीलाई भनेको स्रोतले उद्धृत ग¥यो । एमाले उपाध्यक्ष विष्णु पौडेलले भने, ‘चुनाव आउन अझै बाँकी छ, तर गठबन्धनले दम्भ प्रदर्शित ग¥यो । यो चुनावको माहोल बिगार्ने प्रपन्च हो भनेर हामीले भन्यौं ।’प्रतिनिधिसभामा फेरि पुगेर पारित भएको नागरिकता विधेयक बारे सरकारले के गर्छ भनेर पनि ओलीले सोधेका छन् ।
नागरिकता विधेयक पारित गरी सभामुख मार्फत् प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयक फिर्ता पठाएकी थिइन् । राष्ट्रपतिको जायज सरोकारलाई ध्यान दिनुको साटो सरकारले हुबहु फेरि नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित गरेर भिड्ने मनस्थिति बनाएको ओलीले आरोप लगाए । एमाले अध्यक्ष ओलीले मूल्यवृद्धि र महँगी बाट जनता आक्रान्त हुँदा पनि सम्बोधन नभएको भन्दै गुनासो गरेका छन् ।
नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले प्रतिपक्षीले उठान गरेको विषय आफूले सकारात्मक रूपमा लिएको भन्दै धन्यवाद दिएका छन् । ‘यसमध्ये कतिपय कुरा मैले गरुँला, तर कतिपय एक्लै गर्नसक्ने कुरा छैन,’ प्रधानमन्त्रीले ओलीलाई जवाफ दिए, ‘अबको गठबन्धन मिटिङमा पनि यसबारे कुरा राखौंला ।’





































