निर्वाचन पछि केपी ओली कै नेतृत्वमा सरकार बन्ने कमल थापाको ठोकुवा
वि.सं.२०७९ कात्तिक १९ शनिवार ०८:१९
shares

हेटौँडा । नेकपा एमालेको सूर्य चिन्ह बाट मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार बनेका कमल थापाले मंसिर ४ पछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । मंसिर ४ पनि राष्ट्रवादी नेता ओलीको नेतृत्वमा सरकार बन्ने र उक्त सरकारले देशमा आमुल परिवर्तन ल्याउने उनले बताएका छन् ।
मकवानपुरको विकासमा योगदान दिँदै आएको एमाले र राप्रपा नेपाल एकै ठाउँमा उभिँदा मकवानपुरको विकासले गति लिने भएकै कारण आफु सूर्य चिन्ह बाट उम्मेदवार बनेको थापाको भनाई रहेको छ ।
नेकपा एमाले निर्बाचन परिचालन कमिटीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ र १३ मा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष थापाले मुलुकमा राजनीतिक स्थायित्वको लागि पनि सबै राष्ट्रवादी शक्ति एक हुनुपर्ने बताए । राष्ट्रवादी शक्तिलाई कमजोर गर्नको लागि गठबन्धनका दलहरु विदेशी इसारामा चलेको भन्दै देश बचाउन पनि ओली नेतृत्वलाई स्थापित गर्ने समय आएको थापाको भनाई छ । आफू एक थान सांसदको लागि उम्मेदवार नबनेको भन्दै देशलाई स्थिायित्व दिनको लागि एमाले सँगको सहकार्य गरेको उनको भनाई रहेको छ ।
गठबन्धनको सरकार निर्माण भएसँगै स्थानीय तहदेखि सिंहदरबार सम्म भ्रष्टाचार बढेको बताउँदै उनले देशको आर्थिक अवस्था डामडोल बन्दा समेत सरकार कमिसनको चक्करमा लागेको उनको भनाई रहेको छ ।





































