राप्रपाले २५ गते कठमाडौंमा चुनावी सभा गर्ने
वि.सं.२०७९ कात्तिक २३ बुधवार १८:०२
shares

काठमाडौं ।राप्रपाले आउँदो शुक्रबार काठमाडौंमा आमसभा गर्ने भएको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिए सँगै प्रचारप्रसारलाई तिव्रता दिएको राप्रपाले शुक्रबार काठमाडौंमा आमसभा गर्न लागेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार काठमाडौंको वसन्तपुरमा उपत्यकास्तरीय चुनावी सभा गर्न लागेको हो । उक्त आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टीका वरिष्ठ नेताहरूले सम्बोधन गर्ने श्रेष्ठले जानकारी दिए । उनका अनुसार आमसभामा उपत्यकाका तीन जिल्लाका १५ प्रतिनिधि सभाका र ३० प्रदेश सभाका उम्मेदवारहरुले मतदानका लागि सामूहिक अपिल गर्ने कार्यक्रम छ । यसपटक उपत्यका आफूहरु विजयी हुने श्रेष्ठले दाबी समेत गरे । देशका १४२ प्रतिनिधिसभा र २८६ प्रदेश सभा क्षेत्रमा उमेदवारी दिएको राप्रपा सबैभन्दा बढी उमेदवार उठाउने एमाले पछिको दोस्रो दल हो ।
राप्रपाले यसअघि गोरखाको पालुङटार, नवलपुरको डण्डा, नवलपरासीको सुनवल र पाल्ही नन्दनमा चुनावी सभा गरिसकेको छ। काठमाडाैंका चुनावी सभालाई सो पार्टीका अध्यक्ष राजेन्द्रकुमार लिङदेनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राप्रपाले कात्तिक २४ गते नेै सिन्धुपाल्चोक, सिन्धुली, सिराहा, मकवानपुर, उदयपुर र सुनसरीमा चुनावी सभा गर्दैछ । कात्तिक २९ गतेसम्म चुनावी सभा गरिने राप्रपाले जनाएको छ ।
राप्रपाले राजसंस्थाको पुनःस्थापना, प्रत्यक्ष चुनाव बाट कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेजी लगायत एजेण्डालाई चुनावी अभियानमा प्रचारप्रसार गर्दै आइरहेको छ ।




































