घोषणापत्र कानुन होइनन् जे लेखेपनि हुन्छ ?
वि.सं.२०७९ कात्तिक २५ शुक्रवार ०९:५३
shares

काठमाडौ । राजनीतिक दलहरुले जारी गर्ने चुनावी घोषणापत्र कानुन होइन यसलाई पालना नगर्नेहरुलाई कुनै दण्ड सजायँ हुँदैन । त्यही कारणले गर्दा दलहरुले कुनै अनुसन्धान र जनताका आवश्यकतालाई भन्दा जनतालाई लोभ्याउनका लागि शब्द जालले भरिएका घोषणापत्र जारी गरिरहेका छन् ।
मंसिर ४ गते सम्पन्न हुने संघीय संसद र प्रदेशसभाको निर्वाचनका लागि जारी गरिएका घोषणा पत्रहरु खाली सिसी र पुराना कागज सरह हुने गरेका छन् । जनतालाई लोभ्याउन र झुक्याएर जनताको मत बटुल्ने उदेश्यले मात्र दलहरुले चुनावी घोषणा पत्र जारी गर्ने गरेका छन् ।
दलहरु जिम्मेवार बन्ने हो भने आ–आफूले निर्वाचनका बेला जनता सामु गरिएका प्रतिवद्धताहरु पुरा गर्नुपर्ने हो ? तर गरिब र अशिक्षित रहेका नेपाली जनतासामु जे लेखेर घोषणापत्र जारी गरिएपनि जनताले त्यसलाई विश्वास गर्दछन् भन्ने भ्रममा परेर दलहरुले चुनावी घोषणापत्रमा आकाश नै खसाई दिन्छौँ भन्ने शब्दजालहरु राखेर घोषणापत्र ल्याएका छन् । कांग्रेसले त आफ्नो चुनावी घोषणापत्रलाई संकल्प पत्र भनेको छ ।
पुरा गर्नै नसक्ने असम्भव कुराहरु राखेर दलहरु आफैँ जोकर बन्दै गएका छन् । त्यसैले गर्दा दलहरुले जनतासामु पुरा गर्न सक्ने विषयहरु राखेर घोषणापत्र जारी गर्नुपर्ने होइन र ? कांग्रेस, माओवादी लगायत अन्य दलहरुले जारी गरेका घोषणापत्रमा राखिएका विषयहरु राज्यको क्षमताले भ्याउने भन्दा धेरै माथिका रहेका छन् ।
मुलुकको अर्थतन्त्र डामाडोल अवस्थामा पु¥याएको अवस्थामा उनीहरुले जारी गरेका घोषणापत्रहरु यथार्थपरक भन्दा हावादारी रहेका छन् । ठुला भनिएका दलहरुबाटै पुरा गर्नै नसकिने खालका कार्यहरु हामी पाँच वर्षभित्रमा पुरा गर्दछौँ भन्दै झुठको खेती गर्नु जनतालाई आश देखाउनु र मत आफ्नो पक्षमा पार्ने रणनीति बाहेक अन्य केही हुन सक्दैन ।
कांग्रेसले ५ वर्ष भित्रमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने भनेको छ के यो सम्भव छ ? माओवादीले त २०७४ कै निर्वाचमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने भनेकोमा अहिले ८ हजार मेगावाट भनेको छ । नेकपा एकीकृत समाजवादीले २०० युनिट विद्युत निःशुल्क दिने भनेको छ के यो सम्भव छ ? यी त केही उदाहरण मात्र हुन् ।
यसरी जनतालाई झुक्याउने र जनताको मत बटुलेर आ आफ्नो पार्टीगत र व्यक्तिगत स्वार्थ पूरा गर्ने उदेश्यले ल्याइएको घोषणापत्रहरु झुठले भरिएका घोषणापत्र हुन् । जनताले यस्ता झुठका घोषणापत्रलाई हेर्न बाध्य हुनु परेको छ । मुलुकको लागि यो भन्दा ठुलो दुर्भाग्य अर्को केही हुन सक्दैन ।



































