kumari
stcnepal

जनआन्दोलनका घाइतेलाई गण्डकी प्रदेश सरकारको निःशुल्क उपचार, मनाङका बाढी पीडितलाई २ लाख

काठमाडौँ ।
गण्डकी सरकारले जनयुद्ध र जनआन्दोलनका घाइतेको निःशुल्क उपचार गर्ने भएको छ । प्रदेश सरकार मातहत रहेका अस्पतालबाट सामान्य उपचार निःशुल्क गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्काले जनाए । यसका लागि प्रदेश सरकारले जिल्ला अस्पतालहरुलाई बजेटको व्यवस्था गरेको छ । मन्त्रिपरिषदको भदौ १३ गते बसेको बैठकले जनयुद्ध र जनआन्दोलनका घाइते, अपाङ्ग, बेपत्ता र शहिद परिवारको निःशुल्क उपचार गर्न जिल्ला अस्पतालहरुलाई तत्काल बजेट पठाउने निर्णय गरेको छ ।

जसअन्तर्गत मनाङ र मुस्ताङ जिल्ला अस्पताललाई तत्काल एक÷एक लाख रुपैयाँ उपलब्ध गराउने भएको छ भने बाँकी ९ वटा जिल्ला अस्पताललाई २ लाख ५० हजार रुपैयाँका दरले पठाउने निर्णय गरेको छ । जनयुद्ध र जनआन्दोलनका घाइतेको उपचार गर्न तत्कालका लागि उक्त रकम पठाउने निर्णय गरेको बताउँदै प्रवक्ता खड्काले आवश्यकताअनुसार जिल्ला अस्पतालले थप रकम माग गर्न सक्ने बताएका छन् । उपचार खर्चका लागि बजेटको लिमिटेसन तोकेका छैनौं, आवश्यकताअनुसार जिल्ला अस्पतालले माग गर्न सक्छन्,’ उनले भने, ‘सामान्य उपचारभित्र के–के समस्याको उपचार गर्ने स्वास्थ्य मन्त्रालयले कार्यविधि बनाएर परिभाषित गर्छ । जनयुद्ध र जनआन्दोलनका घाइते, अपाङ्ग, शहिद र बेपत्ता परिवारको उपचार गर्न प्रदेश सरकारले परिचय पत्र वा प्रमाणपत्रको व्यवस्था समेत गर्ने भएको छ । सरकारले दिएको परिचय पत्र वा प्रमाण पत्रका आधारमा उपचार गरिने मन्त्री खड्काले जनाएका छन् । प्रदेश सरकारले गत साउन ४ गते नै जनयुद्ध र जनआन्दोलनका घाइतेको उपचार गर्न अवधारणा पत्र ल्याएको थियो ।

सरकारले मनाङमा यस बर्ष बाढी र पहिरोले क्षति पु¥याएको परिवारलाई राहत रकम दोब्बर दिने निर्णय गरेको छ । कार्यविधिमा बाढी र पहिरो जस्ता प्राकृतिक विपत्तिका कारण घर गुमाएका परिवारलाई १ लाख रुपैयाँ दिने उल्लेख छ ।
मनाङमा सडक संजालसमेत टुटेको भन्दै मन्त्रिपरिषदले थप १ लाख गरी २ लाख रुपैयाँ दिने निर्णय गरेको प्रवक्ता खड्काले बताएका छन् । यस्तै मन्त्रिपरिषद बैठकले अघिल्लो सरकारले ठेक्का लगाएर छाडेका विभिन्न योजना अघि बढाउने निर्णय गरेको छ ।

footer