रेल्वेमा नियुक्त ज्यालादारी कर्मचारी हटाइदै
वि.सं.२०७८ भदौ २० आइतवार २१:३७
shares

काठमाडौँ ।
नेपाल रेल्वे कम्पनीेमा नियुक्त गरिएका ज्यालादारी कर्मचारी हटाइएको छ । हटाइएका कर्मचारीले भने आन्दोलनको धम्की दिएका छन् । नेपाल रेल्वे कम्पनी अन्तर्गत ज्यालादारीमा रहेका कर्मचारी अवैधानिक ढंगले नियुक्त गरिएको भन्दै हटाइएको हो । तलब बुझ्ने बाहेक ती कर्मचारीको कुनै काम नभएको भन्दै उनीहरुलाई हाजिर गर्नबाट रोकिएको छ ।
ज्यालादारीमा नियुक्त गरी कानून विपरीत सेवा सुविधा पाउँदै आएका सयौं कर्मचारीलाई नवनियुक्त प्रवन्ध सञ्चालक निरञ्जन कुमार झाले एक सूचना प्रकाशित गर्दै हटाइएको जानकारी दिएका हुन् । झाले रेल सञ्चालनको टुङ्गो नलागेको अवस्थामा नियुक्त गरिएका विभिन्न पदका १५१ जना ज्यालादारी कर्मचारीलाई हटाइएको जानकारी दिए । उनले ज्यालादारीका कर्मचारीलाई आफूखुशी हाजिर नगर्न सूचनासमेत जारी गरेका छन् ।सूचनामा तत्कालीन व्यवस्थापनबाट ज्यालादारी काममा खटाउने भनिएका कर्मचारीलाई आफुखुशी दैनिक रुपमा हाजिर नगर्न र कामबिना नै त्यस्ता कर्मचारीलाई ज्याला रकम भुक्तानी गर्न कानूनले नमिल्ने प्रस्ट पारिएको छ । नेपाल रेल्वे कम्पनीका पूर्व महाप्रबन्धक गुरू भट्टराईले अवैधानिक ढंगले रेल्वेमा आफूखुशी कर्मचारी नियुक्त गरेका थिए । काम नगरे पनि उनको तोक आदेशमा कर्मचारीले ज्याला पाउँदै आएका थिए ।
नवनियुक्त प्रवन्ध सञ्चालक झाले भने, ‘कामै नगरी ज्यालादारीका कर्मचारीले ज्याला पाउने कानूनी प्रावधान नै छैन त्यसैले उनीहरूलाई हटाइएको हो । अब रेल चल्ने निश्चित भएपछि लोकसेवा आयोगको अनुमति लिएरमात्र कर्मचारी भर्ना गरिने छ ।






































