उपत्यकामा आज विभिन्न ठाउँहरु डुबान
वि.सं.२०७८ भदौ २१ सोमवार १०:५१
shares

काठमार्डौँ ।
आज राति आएको वर्षाले काठमाडौँ उपत्यकामा ३८५ घर डुबानमा परेका छन् भने २४७ जनाको उद्धार गरिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले काठमाडौँको काँडाघारी, परोपकार, बल्खु, सुन्दरीघाट, भक्तपुरको मनोहरा, बोडेफाँट, सुकुम्बासी बस्ती तथा ललितपुरको सानेपा, कालोपुल लगायतको क्षेत्र डुबानमा परेको जानकारी दिएका छन् ।
गोकर्णेश्वर उत्तरवाहिनी क्षेत्र डुबान अविरल वर्षाले वाग्मतीको किनारमा रहेको गोकर्णेश्वर महादेव मन्दिर र उत्तरगया क्षेत्र डुबानमा परेको छ । गोकर्णेश्वर महादेव मन्दिरबाट उत्तरवाहिनीसम्म अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले निर्माण गरेको सिँढी भरिएर बाहिर पानी आउँदा यो क्षेत्र डुबानमा परेको हो । पानीसँगै आएको बाढीले यस क्षेत्रको सडक पनि बिगारेको छ । जोरपाटी सुन्दरीजल सडक विस्तारका क्रममा ठाउँ ठाउँमा अलपत्र रहेको भाग बाढीले प्रभावित भएको छ । अधिकांश भित्री सडक जलमग्न भएको छ । गोकर्णमुनिको वाग्मती किनार क्षेत्रसमेत ठाउँ ठाउँमा डुबानमा परेको छ । यसैगरी रुद्रमतीमा आएको बाढीले रातोपुल मैतीदेवी क्षेत्रका केही घरसमेत डुबानमा परेका छन् । सोमबार बिहानको वर्षाले उपत्यकाका धेरै स्थान प्रभावित भएको छ ।
































