kumari
stcnepal

फेरी बढन थाले कोरोनाका संक्रमित एकै दिनमा थपिए १७ जना

काठमाडौं ।नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज ह्वात्तै बढेको छ । शून्यमा झरेको सङ्क्रमण आज एकै दिन १७ जनामा देखिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक हजार चार सय ५४ जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ ।

चैत ७ र चैत ८ गते भने शून्य सङ्क्रमित रहेका थिए । चैत ७ गते नौ सय नौ र चैत ८ गते एक हजार तीन सय ८७ जनामा कोरोना परीक्षण गराइएको थियो । सक्रिय सङ्क्रमित पनि बढेको पाइएको छ । आज ३० जना सक्रिय सङ्क्रमित रहेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले त्यसको प्रभाव नेपालमा परेको बताए ।

‘भारतमा सङ्क्रमण बढिरहेको छ । भारतबाट सङ्क्रमित नेपाल आइरहेका छन्’, उनले भने, ‘हिजो मात्र सीमानाका बाट सात सङ्क्रमित नेपाल आएका छन् ।’ उनले खुला सीमाबाट सङ्क्रमित नेपाल आइरहेकाले सीमानाकामा परीक्षणलाई कडाइ गरिएको बताए । उनले जनस्वास्थ्यका मापदण्ड र अतिरिक्त खोप लगाउन आग्रह गरे । मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ । अहिले उपत्यका सहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालन समेत भइरहेको छ ।

footer