अमुक प्रेम
वि.सं.२०८३ साउन ७ बिहीवार ११:३८
shares

सन २००१ को अगस्त महिना विश्व युवा तथा विद्यार्थी सम्मेलनमा सहभागी हुन म अफ्रिकाको अल्जेरिया पुगेको थिएँ । अगस्त ८ देखि १६ सम्म चलेको उक्त सम्मेलनमा विश्वका करिब दुई सय देशका युवा तथा विद्यार्थीहरूको सहभागिता थियो । विभिन्न भाषा, संस्कृति र पृष्ठभूमिबाट आएका ती युवाहरूबीच उत्साह, जिज्ञासा र मित्रताको अद्भुत वातावरण थियो ।
कार्यक्रम स्थलदेखि केही टाढा हाम्रो बसोबासको व्यवस्था गरिएको थियो । मेरो कोठा दोस्रो तलामा थियो । सबैलाई छुट्टाछुट्टै कोठा दिइएको थियो । मेरो कोठाको अगाडि श्रीलंकाका केटीहरू बस्थे भने पूर्वतर्फ हङ्गेरीकी जोन ह्यारीको कोठा थियो । श्रीलंकाका केटीहरू हिन्दी र अंग्रेजी राम्रोसँग बोल्थे, र म पनि ती भाषामा संवाद गर्न सक्थें । तर जोन ह्यारीको संसार फरक थियो उनी स्पेनिस र फ्रान्सेली मात्र बुझ्थिन् । अंग्रेजी वा हिन्दीको सामान्य शब्द पनि उनलाई थाहा थिएन ।
तर भाषा नबुझे पनि भावना बुझ्न शब्दको आवश्यकता नपर्दोरहेछ । जोन ह्यारीले मलाई सधैं “नेपाली ब्रदर” भनेर सम्बोधन गर्थिन् । त्यो शब्द उनले कसरी सिकिन्, मलाई थाहा भएन । तर त्यो सम्बोधनसँगै आउने उनको मुस्कान अत्यन्तै निष्कपट र आत्मीय हुन्थ्यो ।
उनी केवल बाहिरी रूपमा मात्र होइन, व्यवहार र सरलतामा पनि अत्यन्त आकर्षक थिइन् । सधैं हँसिलो अनुहार, सहजता र आत्मीयताले भरिएकी । हामी एकअर्कासँग खुलेर कुरा गर्न सक्दैनथ्यौं, तर माया भन्ने कुरा अनौठो हुँदो रहेछ भूगोल, जात, धर्म वा भाषाले कहिल्यै रोक्न नसक्ने । आँखाबाट भाव बुझ्न र बुझाउन सकिँदो रहेछ ।
कार्यक्रम स्थलमा सँगै जानु, फर्किनु, खाना खानु—यी सबै क्रियाकलापहरू स्वाभाविक रूपमा सँगै हुन थाले । खाना खाने बेलामा म नदेखिए उनी “नेपाली ब्रदर!” भन्दै ठूलो स्वरले बोलाउँथिन् । त्यो क्षणमा लाग्थ्यो भाषा नबुझे पनि सम्बन्ध कति सहज र स्वाभाविक हुन्दोरहेछ ।
हामी हाउभाउ, आँखा र मुस्कानमार्फत संवाद गथ्र्यौं । कहिलेकाहीँ शब्दभन्दा ती संकेतहरू अझ स्पष्ट लाग्थे । दिनहरू बित्दै गए, र मेरो मन पनि जोन ह्यारीतर्फ बग्न थाल्यो । नेपाल र हङ्गेरीबीचको दूरी भौगोलिक रूपमा टाढा भए पनि, हाम्रो मनबीचको दूरी भने घट्दै गएको अनुभूति हुन्थ्यो ।
त्यो समय मोबाइल थिएन, सामाजिक सञ्जाल थिएन । फोटो खिच्नका लागि एउटा सामान्य क्यामेरा मात्र थियो । रिल सकिन्छ कि भन्ने डरले जोगाउँदै फोटो खिच्यौं ।
एकदिन हामी समुद्र किनारमा गयौं । त्यो साँझ असाध्यै सुन्दर थियो । अस्ताउँदै गरेको सूर्यको रातो आभाले समुद्रलाई राताम्मे बनाएको थियो । छालहरू उर्लिरहेका थिए, टाढाबाट पानीजहाजहरू बिस्तारै अघि बढिरहेका थिए । मानिसहरू आफ्ना गन्तव्यतर्फ हतारिँदै थिए, तर हामी भने एकअर्काको आँखामा हराइरहेका थियौं ।
त्यो क्षणमा समय रोकिएको जस्तो लाग्यो । कहिलेकाहीँ मनलाई स्थिर बनाएर बस्नु पनि कति आनन्ददायी हुँदो रहेछ भन्ने अनुभूति भयो । हामी दुवैलाई रात नपरोस् भन्ने लागिरहेको थियो, तर प्रकृति आफ्नै गतिमा अघि बढिरहेकी थिइर्न ।
हामीसँग एक जना गाइड पनि थिए, जसले कोठामा फर्किन बोलाइरहेका थिए । तर हामी आफ्नै संसारमा हराएका थियौं । हामीलाई फर्किन भनिरहेको थियो । तर हामीले सुनेनौं । उनी रिसाउँदै आए र हामीलाई उठाएर लगे । हामी फेरि भीडमा फर्कियौं तर हाम्रो मन त्यहीँ समुद्र किनारमै छुटेको थियो ।
त्यस रातभरि जोन ह्यारीको सम्झनाले मलाई सताइरह्यो । भाषा बुझ्ने भएको भए मनका कुरा साट्न सकिन्थ्यो होला भन्ने लागिरह्यो । उनको मुस्कान, उनको आवाज, “नेपाली ब्रदर!”—सबै कानमा गुञ्जिरह्यो । मनमा एउटै कुरा घुमिरह्यो यदि भाषा बुझिन्थ्यो भने, के म उनलाई केही भन्न सक्थें ?
भोलिपल्ट बिहानै “नेपाली ब्रदर!” भन्दै उनले मेरो ढोका ढकढकाइन् । म अझै तयार भइसकेको थिइनँ, तर उनी भित्र पसिन् । केही नबोली कफी बनाउन लागिन् । म बाथरूम गएँ, फर्किंदा कफी तयार थियो । फलफूल काटेर उनले सँगै खान इसारा गरिन् । हामी गफ गर्न सक्दैनथ्यौं, तर सँगै बस्न भने मन लाग्थ्यो ।
हरेक दिन हामी कार्यक्रमका गतिविधिहरूमा सँगै हुन थाल्यौं । मैले उनलाई केही शब्द सिकाउने प्रयास गर्थें । उनी मुस्कुराउँथिन त्यो मुस्कानमा स्वीकृति, माया र अनेक भावना मिसिएका हुन्थे ।
म भित्रभित्रै सोच्थें—
“तिमी यति धेरै मायाको हकदार छ्यौ, जति मेरो हृदयले अझै व्यक्त गर्न सकेको छैन ।”
एकदिन हामी सहारा मरुभूमिबाट फर्किरहेका थियौं । गाडीमा जोन ह्यारी चुपचाप रोइरहेकी थिइन । उनका आखाबाट आँसु बगिरहेका थिए ।
उनले किन रोइरहेकी थिइन्, म शब्दमा बुझ्न सकिनँ, तर उनको अनुहारले सबै कुरा भनिरहेको थियो—हाम्रो छुट्टिने समय नजिकिँदै थियो ।
त्यो क्षणमा मैले महसुस गरें हाँसो र आँसुको भाषा संसारभर एउटै हुँदो रहेछ ।
छुटिने दिन आयो । भीड थियो, कोलाहल थियो, सबै आफ्नै यात्रामा व्यस्त थिए । तर म भने उनलाई मात्र खोजिरहेको थिएँ ।
उनी आइन् ।
हामी एकअर्काको अगाडि उभियौं । अंकमाल गरौ आत्म एउटै भएको महशुस गरौ ।
उनले केही भन्न खोजिरहेकी थिईन मैले बुझने प्रयास गरे ।
न कुनै वाचा भयो, न कुनै सम्पर्क ।
केवल एउटा अधूरो अमुक प्रेम
हामी आ–आफ्नो देश र जीवनतर्फ फर्कियौं । उनले केही भन्न खोजिन्, म बुझ्न सकिनँ । तर उनका आँखाहरूले सबै कुरा भनिसकेका थिए ।
सायद उनी भन्न चाहन्थिन
“केही सम्बन्धहरू शब्दमा बाँध्न सकिँदैनन् ।”
आज पनि, जब म त्यो अगस्त सम्झन्छु,
मलाई टाढाबाट कसैले बोलाएको जस्तो लाग्छ—
“नेपाली ब्रदर!”
र म मुस्कुराउँछु ।

































