मिटरब्याजी पीडितले सरकारी दमन बिरूद्ध थप आन्दोलन गर्ने घोषणा
वि.सं.२०८० वैशाख ५ मंगलवार १२:५९
shares

काठमाडौँ। मिटर ब्याज तथा ठगी विरुद्ध किसान–मजदुर सङ्घर्ष समितिले राज्यबाटै आफूहरूको आन्दोलन भड्काउने, उत्तेजित पार्ने काम गरेको आरोप लगाएको छ ।
सङ्घर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले मंगलबार विज्ञप्ति जारी गर्दै आफूहरूको आन्दोलनभित्र छिरेर प्रहरीले ज्येष्ठ नागरिक, अशक्त तथा बिरामीमाथि कुटपिट गरेको, महिलामाथि पुरुष प्रहरीले आक्रमण तथा दुर्व्यवहार गरेको आरोप लगाएका छन् । पीडितले सहयोगी तथा शुभचिन्तकबाट सहयोग जुटाएर जम्मा गरेको अनाज, ग्यास, ग्यास चुलो, स्पिकर र भाँडाकुँडा समेत प्रहरीले लुटेको उनको आरोप छ ।
‘यस्तो राज्य प्रायोजित आतङ्क र दमनको हामी घोर भर्त्सना गर्दछौं,’ विज्ञप्तिमा उनले भनेका छन् । उनले गृहमन्त्री नै आफूहरूको आन्दोलन दबाउन उद्यत रहेको भन्दै सङ्घर्ष समितिले चाँडै प्रतिवादमा आन्दोलनको नयाँ कार्यक्रम घोषणा गर्ने जानकारी दिए ।सोमबार शान्ति वाटिकाबाट सिंहदरबारसम्म आफूहरूको शान्तिपूर्ण जुलुस जाने कार्यक्रम रहेकोमा बिहानैदेखि प्रहरीले शान्तिवाटिका क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिँदै पीडितहरुलाई आवतजावतमै निषेध र धरपकड गरिएको उनको आरोप छ ।





































