विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संविधान र संसद अन्ध, राजनीतिक दुर्गन्ध

611
shares

 

राजन कार्की
संविधान र संसद अन्ध, राजनीतिक दुर्गन्ध । नेपालको राजनीतिक परिदृश्य यही हो । जबसम्म संविधानमा सुधार हुन्न, संसदमा सुधार हुनसक्दैन, राजनीति जनताप्रति जवाफदेही पनि बन्दैन, दुर्गन्ध फैलिरहन्छ ।
नेपालको राजनीति र महाभारतमा अन्धाधृतराष्ट्रको शासनकाल र कौरव पाण्डववीचको मतभिन्नता उस्तै उस्तै लाग्छ । हुन त भदौ २३ र २४ गते ठूलै बिद्रोह भयो । त्यो बिद्रोहको बिद्रुप तस्वीर मन मनबाट मेटिन नपाउँदै सडकदेखि संसदसम्म अनेक बिद्रोहका स्वरुपहरु देखिन थालेका छन् ।
सुध्रेनन, न पुराना सुधारिए, न नयाँ शक्ति भनेर उदाएकाहरु सुधारिन सके । रास्वपाको पहिलो महाधिवेशनको गाईजात्रा चितवनबाट लाइभ देखियो । परिवर्तनकारी शक्ति भनिएकाहरुले पनि खुट्टा लरबराउन थालेका छन् । संशय अनेक उठेका छन्, संशयको निदान भइसकेको छैन । हुन त नयाँ हुन्, केही समयको परीक्षापछि स्पष्ट होला, यिनले देश थामिखान, चलाईखान सक्छन् कि सक्दैनन् ? जनताले परिवर्तन चाहे, नवयुवाले परिवर्तन ल्याए । यसलाई जनजीवनको साँचोमा ढाल्न नसक्ने हो भने अमेरिका भन्दा जेठो देश भत्किनसक्छ । त्यसै पनि भूराजनीतिको गोलचक्करमा नेपाल फसिसकेको छ ।
राजनीति समाज परिवर्तन गर्नका लागि हो । यसैले राजनीतिलाई उच्चकोटीको समाजसेवा पनि भन्ने गरिन्छ । राजनीति भनेको हरेक विवादको निकास हो । संविधान भनेको विधि र प्रक्रिया हो । अनुशासन हो । झगडामात्र गर्ने राजनीति र विधि र प्रक्रिया निर्धारित गर्न नसक्ने संविधान हुनु र नहुनुको कुनै अर्थ छैन । यहीकारण हो, २०६३ साल वैशाख ११ गते मरेको संसद ब्यूँताइयो, यही भूतले २०६५ साल जेठ १५ गते राजतन्त्रको बली खायो, राजतन्त्र समाप्त पा¥यो । सबै समस्याको जड पहिले पञ्चायत, पछि राजतन्त्र हो भनियो, राजनीति र संविधानले कुनै हल निकाल्न सकेन । अहिले आएर स्पष्ट भयो, समस्याको जड त नेतृत्वको नीति, सिद्धान्त, निष्ठा, नैतिकहीनता पो रहेछ ।
सामान्य गल्ती हुँदा बेलायतका प्रधानमन्त्री स्टारमरले राजीनामा दिएका छन् । ६ वर्षमा ५ सरकार बनिसक्यो, छैठौं सरकार बन्दैछ बेलायतमा । त्यहाँका सबै सरकार लोकलज्जा र नैतिकता देखाएर ढलेका हुन् । नेपालमा ३७ वर्षको बहुदल, लोकतन्त्र, गणतन्त्र कालमा ३४ सरकार बनिसक्यो । यी सबै सरकारहरु लोभ, स्वार्थ, भ्रष्टाचार, अपराधिकरण भएकाले परिवर्तन भएका हुन् । नेपाली राजनीतिमा सिद्धान्त, नीति, नैतिकता भनेको त स्यालको सिङ हराएजस्तो हराईसक्यो ।
जुन देशमा लोकप्रतिको जिम्मेवारी र लोकलज्जा हुन्छ, त्यो देशमा संविधान नै चाहिन्न । जस्तो बेलायत । त्यहाँ लोकलज्जा र लोकतन्त्रप्रति जवाफदेहिता छ ।
नेपालमा लोकतन्त्र छ, लोकलज्जा छैन, जवाफदेहिता पनि छैन । अब हुन्छ कि भनेर आश लगाएको हो, यो परिवर्तनले कस्तो सुशासन वा कुशासन स्थापित गर्छ, त्यो समयले बताउला ।
स्वार्थ सर्वोपरि ठान्ने र राजनीतिलाई मौजा सम्झने नेताहरुकै कारण हो, अराजक स्थितिको सिर्जना हुनपुग्यो । जसरी पनि चुनाव जित्ने र सत्ताको माध्यमबाट दोहन गर्ने, भाग शान्ति जय नेपाल गर्ने, सेटिङमा शासन चलाउने प्रवृत्ति यसरी बढ्यो कि नेपालले आजको दुर्दिनबाट गुज्रनु परेको छ । राजनीति र जनतावीचको विश्वासको संकट डरलाग्दोसँग बढेपछि जनताले गत फागुन २१ को चुनावमा मौन बिद्रोह गरेका हुन् ।
स्थिति यस्तो छ कि जनताको सरकारप्रति विश्वास छैन । प्रतिपक्षी विश्वासिलो हुनसकेको छैन । अदालतप्रति जनता निराश छन् । नागरि निराशालाई वर्तमान कालखण्डमा प्रतिपक्षीहरु मलजल गरिरहेका छन् । लोकतन्त्रमा यस प्रकारको छाडातन्त्र हावी भएको छ । यो धुमिल राजनीतिक वातावरण स्वच्छ पार्ने जिम्मेवारी रास्वपा र सरकारको हो । त्यसको प्रयास गरेजस्तो देखिन्छ, परिणाम आइसकेको छैन ।

प्रतिपक्षी दलहरु हुन्– नेपाली कांग्रेस, एमाले, नेकपा (माओवादी), श्रम संस्कृति र राप्रपा । कांग्रेस पार्टीभित्र भयानक नेतृत्वको भयानक बादबिबादमा उल्झिएको छ । एमालेका अध्यक्ष केपी ओली विश्राम लिने र पूर्वराष्ट्रपति तथा एमाले नेतृ विद्या भण्डारीलाई सकृय पार्न थालेको देखिन्छ । माओवादी पन्छाएर कम्युनिष्टका टुक्राटाक्री बटुलेर जोडजोड बनेको नेकपा झल्याकझुलुक मात्र देखिन्छ । राप्रपाभित्र पनि नेतृत्व विवादले टुटफुट हुनथालेको छ । रह्यो, श्रम संस्कृति पार्टी र अध्यक्ष हर्क साम्पाङ् मपाइत्वले आफै अग्लिदै र आफै झर्दै जाँदो छ । रह्यो, पूर्ण बहुमतमा रहेको सत्तारुढ रास्वपा पार्टी, सुशासनको लागि यसरी लागि परेको छ कि ०४६ सालपछिका सत्तासीनहरुको सम्पत्ति छानबिन थालेपछि सम्पूर्ण शक्ति एकातिर, रास्वपा अर्कोतिर हुनपुगेको छ ।
यस्तो स्थितिमा पनि रास्वपाले सफलता पायो भने, त्यो आश्चर्य हुनेछ ।
राजनीतिले थाँती रहेका सबैखाले राजनीतिक मुद्दाहरुको निकास दिने माध्यम हो, राजनीति आफैमा गुजुल्टिन पुगेको छ । सत्तारुढ र प्रतिपक्षीहरु अझै पनि एकदोस्रालाई खुइल्याउन लागिपरेको देख्दा लाग्छ– नेपाल बन्दैन, बनाउन खोज्नेले पनि बनाउन सक्दैन । पुरानाले भएन भनेर जनताले नयाँलाई रोजे, नयाँहरु पनि राजनीतिक खोरियामा हराउने खतरा बढ्दै गएको छ । पुरानाहरु हामीलाई तर्साउने, घिसार्ने, रगताम्मे पार्ने, मुद्दामा फसाउने भनेर नयाँमाथि जाइलागेका छन् । नयाँहरु काम गरुन् कि जाइलाग्नेमाथि आइलागुन ? नेपालको राजनीति बाँदरनाचजस्तो बन्नपुगेको छ । हिजो आफूले चलाएको निरंकूशता नदेख्ने, परिवर्तन दिन्छु भनेर आएकहरुलाई निरङ्कूशता लाद्न थालेको आरोप लगाएर, यस्तालाई फालिन्छ फालिन्छ भन्न थालेका छन् । राजनीति फेरि पनि अराजकता र अस्थिरताको सिकार बन्न थालेको छ ।
सुकुम्वासी समस्या, सहकारी समस्या र भ्रष्टाचारको जरो नउखेली सुशासन आउनसक्ने र यो परिवर्तनकारी सरकारमाथि जनविश्वास स्थापित हुनसक्दैन । सामाजिक सञ्जालको भरमा बसेको विश्वास अथवा माया जुनसुकैबेला टुट्नसक्छ । जनताको पीडा संवोधन गरेर न्याय दिन सकेमात्र त्यो पार्टीले पाएको जनादेश स्थिर हुने हो । कतै अर्को महाविपद नआओस् भन्नकै लागि जनता भनिरहेका छन्– परिवर्तनकारी नयाँ शक्तिलाई असफल हुने छुट छैन ।
यतिबेला नेपालमा सबैभन्दा अलोकप्रिय भनेकै संघीय लोकतान्त्रिक गणतन्त्र छ, यसका स्थापित नेताहरु छन् । संविधान संशोधनको माध्यमबाट सुधार गर्न सके र परम्परागत राजनीतिक शक्तिलाई पनि स्थान दिनसके यो सरकारले देशमा राजनीतिक स्थिरता कायम गराउन सक्नेछ ।
विप्लव, बैद्यले पटक पटक भनिसकेका छन्– देश संकटमा छ । देश बचाउन सकिन्छ, राजनीतिक शक्तिहरुको एकताले । राजतन्त्र पनि राजनीतिक शक्ति हो, राजतन्त्रलाई पनि साथ लिनुपर्छ । जोसँग जनताको साथ छ, त्यो राजनीतिक शक्ति हो । त्यस्तो राजनीतिक शक्ति बिना जनता बाँच्न सक्दैनन्, राष्ट्र बाँच्न सक्दैन । अब निषेध र विभेद, प्रतिषोध लिनु भनेको देशलाई संकटमा पार्ने दुस्साहस हुनेछ ।
रास्वपाको महाधिवेशन स्थल चितवनको सभामा पुगेरै राप्रपाका अध्यक्ष राजेन्द्र लिंगदेनले भनिसकेका छन्, राजावादीले राप्रपालाई भोट नदिएर बालेनले राजा ल्याउँछ भनेर घण्टीमा भोट दिएका छन् । ती जनताको भावनाको कदर हुनुपर्छ । अन्य मधेशवादी दलका नेताहरुले पनि आफ्ना भोटरले आफूलाई भोट नदिएर घण्टीमा भोट दिएका छन् । त्यो जनभार रास्वपाले उठाउनुपर्छ, जनअपेक्षा पूरा गर्नुपर्छ । त्यो जनभरोसा तोड्ने हक छैन रास्वपालाई । लोकतन्त्रमा आज कुनै शक्ति लोकप्रिय छ भने त्यो राजतन्त्रवादी शक्ति हो । त्यो शक्तिलाई किनारा लगाएर लोकतन्त्र नेपालमा सफल हुनसक्दैन भन्ने रास्वपाले बुझ्नैपर्नेछ ।
अबको आशा भनेको रास्वपा र रास्वपाले गर्ने सामुहिक प्रयत्नको हो । सामुहिक प्रयत्नका लागि सबै शक्तिहरुलाई एकीकृत पार्न सकिएन भने विश्वकै ५ जेठोमध्येको राष्ट्र नेपाल अस्तित्वको संकटमा पर्ने निश्चित छ ।
कम्तिमा यो यथार्थ प्रम बालेन साहले बुझेकै हुनुपर्छ । संविधान र संसद अन्ध, राजनीतिक दुर्गन्ध बोकेर देशको सुगन्ध फैलिन सक्दैन । चेत रहोस् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports