नेपाल र गणतन्त्र क्यामरुन बीच कुटनीतिक सम्बन्ध स्थापना
वि.सं.२०८० असार ८ शुक्रवार ०९:४९
shares

गोरखा । नेपाल र गणतन्त्र क्यामरुन बीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यस सँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका मुलुकहरुको संख्या १८० पुगेको छ । संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा २२ जुन २०२३ मा आयोजित एक संक्षिप्त समारोहमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत बहादुर राई र संयुक्त राष्ट्रसंघका लागि क्यामरुनका स्थायी प्रतिनिधि मिशेल टोमो मोन्थोले कूटनीतिक सम्बन्ध स्थापना सम्बन्धी पत्रमा हस्ताक्षर गरेका हुन् ।
सो अवसरमा दुवै देशका प्रतिनिधिहरुले द्विपक्षीय सहयोगलाई सुदृढ पार्न साझा हितका विभिन्न विषयमा विचार विमर्श समेत गरेको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । क्यामरुन २४० भन्दा बढी जनजाती र २३० भाषाको धनी क्यामरुन पश्चिम अफ्रिकी मुलुक हो । क्यामरुन देश चाड, मध्य अफ्रिकी गणतन्त्र, कंगो गणतन्त्र, ग्याबोन, इक्वेटोरियल गिनी, नाइजेरिया र दक्षिण पश्चिममा एटलान्टिक महासागरको सिमानामा पर्दछ । कूल ४ लाख ७५ हजार ४४० वर्ग किलोमिटर क्षेत्रफल रहेको क्यामरुनमा २७ मिलियन भन्दा बढी जनसंख्या छ ।



































