kumari
stcnepal

खुल्यो मध्य भोटेकोशीको आइपीओ

 

काठकाडौँ । मध्यभोटेकोशी जलविद्युत् कम्पनीले आज (१० बजे)देखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता सेयर विक्रीमा ल्याएको हो । निष्काशित कुल ९० लाख कित्तामध्ये ३ लाख ६० हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि र ४ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउने छन् ।

कम्पनीको आइपीओमा सर्वसाधारणले असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा कात्तिक ३ गतेसम्म आवेदन दिन पाउने छन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीले धितोपत्र बोर्डबाट डेढ अर्ब बराबरको १ करोड ५० लाख कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको छ । सोमध्ये पहिलो चरणमा सिन्धुपाल्चोकका स्थानीयलाई ६० लाख कित्ता सेयर जारी गरिसकेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले केयरएनपी डबल बी आईएस रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता मध्यम रहेको जनाउँदछ ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा विक्री प्रबन्धकहरुमा सिभिल क्यापिटल मार्केट, एनआइबीएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीबीआइएल क्यापिटल मार्केट रहेका छन् । आयोजनाले हाल सिन्धुपाल्चोकको भोटेकोशीमा १०२ मेगावाट क्षमताको आयोजना बनाइ रहेको छ ।

आयोजनाको कुल लागत १४ अर्ब ५० करोड रुपैयाँ रहेको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँट गर्नुपर्ने हुन्छ ।
कम्पनीले सर्वसाधरणलाई ८१ लाख ९० हजार कित्ता छुट्याएको छ । सो आधाारमा प्रति आवेदकलाई १० कित्ताले बाँड्दा ८ हजार १९ जनालाई मात्र सेयर दिन पुग्छ । यसअघि खुलेका आइपीओमा २४ लाख बढीले आवेदन दिँदै आएका छन् । सो आधारमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नु पर्ने देखिन्छ । त्यसअनुसार कम्पनीको आइपीओमा १ हजार रुपैयाँ अर्थात १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ ।

footer