काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगका उपाध्यक्ष तपेन्द्र खड्काले राजीनामा दिए
वि.सं.२०८० साउन ३१ बुधवार २१:१७
shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगका उपाध्यक्ष तपेन्द्र खड्काले राजीनामा दिएका छन् । खड्काले अघिल्लो साता पारिवारिक कामले लामो छुट्टी मागेका थिए । तर, मेयर बालेन शाहले लामो छुट्टीमा बस्नुभन्दा राजीनामा नै दिन दबाब दिएपछि उनले गत शुक्रबार राजीनामा बुझाएका हुन् ।
योजनाको काममा लाग्नुपर्ने बेला उपाध्यक्षले लामो विदा मागेपछि उनीसँग राजीनामा माग गरिएको बालेनका स्वकीय सचिव भूपदेव शाहले बताए । ‘आर्थिक वर्ष सुरु भएको केही दिनमात्रै भएको छ, योजनासम्बन्धी धेरै काम गर्ने बेला उहाँले लामो समय विदा मागेपछि, राजीनामा कै कुरा भएको हो’, शाहले भने ।खड्कालाई २६ पुसमा काठमाडौं महानगरपालिकाले योजना आयोगको उपाध्यक्षमा नियक्त गरेको थियो । उनले ७ महिनामै राजीनामा दिएर बाहिरिएका छन् ।परिवारिक कामका कारण आफूले समय दिन नसकेपछि राजीनामा दिएको खड्काले बताए । ‘मेयरसँग असझदारी भएर वा अन्य कारणले राजीनामा दिएको होइन,’ खड्काले भने । खड्काकै योजनामा महानगरपालिकाले चालु आवमा महानगर गौरवको योजना, स्वर्णिम योजना ल्याएको थियो ।
बालेनका स्वकीय शाहका अनुसार बिहीबार बस्ने कार्यपालिका बैठकले डा. सुमननरिसंह राजभण्डारीलाई नयाँ उपाध्यक्षमा नियुक्ति गर्दैछ । राजभण्डारी बालेनसँग निकट स्ट्रक्चरल इन्जिनियर हुन् । इन्जिनियरिङमै विद्यावारिधि गरेका राजभण्डारीलाई मेयर हुनुअघि बालेनले इन्जिनियरिङको काममा सहयोग गर्दै आएका थिए । अध्ययन तथा काममा राजभण्डारीले बालेनलाई गुरुले जसरी नै सिकाउने गरेको उनी निकट स्रोतले बतायो ।





































