पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बझाङमा भूकम्पले पुर्याएको जनधन प्रति दुख व्यक्त
वि.सं.२०८० असोज १७ बुधवार १५:३८
shares

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार बझाङमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। बझाङको चैनपुर केन्द्रबिन्दु भएर हिजाे अपरान्ह ३:६ मा ६.३ रेक्टर स्केलको भूकम्प गएको थियाे।
पूर्वराजा शाहको संवाद सचिवालयका अनुसार शाहले सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा ठूलाे क्षति पुगेकाे र जनसाधारणमा त्रासदी बढेकाेमा गहिराे दु:ख व्यक्त गरेका छन्। साथै उनले भूकम्पपीडितको उपचार र राहतमा सरकारले शीघ्र कदम चाल्न सम्बन्धित सबैकाे ध्यान चाँडै पुगोस् भनी आग्रह समेत गरेका छन्।
पूर्वराजा शाहको संवाद सचिवालयले बुधबार यसबारे जानकारी गराएको हो। बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ भने २७ जना घाइते भएका छन्।
सुदूरपश्चिममा भूकम्पका कारण ७६ घरमा पूर्ण क्षति भएको छ। प्रदेशका पहाडी जिल्लाका तीन सय एक घरमा आंशिक क्षति भएको छ। ३२ वटा सरकारी कार्यालयमा आंशिक क्षति भएको छ भने एक कार्यालयमा पूर्ण क्षति भएको छ। बझाङमा सबैभन्दा बढी क्षति भएको छ।




































