प्रचण्डको अर्को पासा– जसपातिर
वि.सं.२०७८ कात्तिक १७ बुधवार १३:४२
shares

काठमाडौं ।केपी ओलीलाई सत्ताबाट निकाले भनेर गुड्डी हाँक्दै हिडेका प्रचण्डले जसपासँग चुनावी एकता गर्ने पासा फालेका छन् । एकातिर एमालेबाहेकका कम्युनिष्ट एकता, अर्कोतिर जसपासँग एकता । यसबाट थाहा हुन्छ, प्रचण्ड सिद्धान्तमा, नीति र नैतिकतामा छैनन् । उनका लागि चुनाव जित्नु र सत्तामा जानु नै प्राथमिकता हो ।
परिवर्तनको १५ वर्षको हिसावकिताव दिन नसक्ने, के काम गरियो भन्न नसक्ने माओवादी आफैमा १० वर्षे जनयुद्धको दलदलबाट निस्कन सकेको छैन । अब उसका लागि सत्ता र शक्ति नभए फसिन्छ भन्ने लागेर चुनावमा जसपासँग एकता गर्ने प्रस्ताव गर्न थालेको छ ।
प्रचण्डले खुला भाषणमै भनेका छन्– ‘मलाई उपेन्द्रले राम्रोसँग चिन्नुहुन्छ, म कस्तो मान्छे हो भनेर’ । उता माओवादीबाट उफ्रदै उफ्रदै जसपा पुगेका बाबुरामले जति प्रचण्डलाई कसले चिनेको होला । बुढीगण्डकी र लडाकाको क्यान्टोनमेन्टको रकम प्रचण्डले खाएको आरोप लगाउने बाबुराम प्रचण्डसँग फेरि एकता गर्न पुग्लान् त ?
यसकारण नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता समाजवादी पार्टी(जसपा)सँग पार्टी एकता गर्न राखेको प्रस्तावमा दम देखिदैन । अचम्म त के पनि छ भने कुनै बेला उपेन्द्र र बाबुराम प्रचण्डसँगै काम गरेका नेता हुन् । उपेन्द्रले माओवादी कार्यकर्तालाई रौतहट काण्डमा सफाया गरेको कुरा प्रचण्डले बिर्सिए । अब यिनै लोभीपापीको एकताको कुरा । कारण यत्ति छ कि ओलीलाई चुनावबाट सफाया गर्नुछ ।
एकताको कारण एउटै छ, माओवादी मधेशमा कमजोर छ । प्रभु साहले जीवनभर ओलीसँग बस्ने भनिसकेपछि माओवादी झन खतरनाक मोडमा पुगेको हो । यसकारण प्रचण्डलाई बाबुराम, उपेन्द्र र जसपा चाहिएको हो ।
यता चितवनमै प्रचण्ड खतरामा छन् । उनलाई रामवहादुर थापा एमालेमा गएपछि झन ठूलो झट्का लागेको हो । कांग्रेस र नेकपा समाजवादीसँग मिलेर जाने, उता मधेशवादीसँग एकता, प्रचण्डको छटपटीले आगामी चुनाव कुरुक्षेत्रको युद्ध भन्दा कम हुन्न भन्ने संकेत गर्न थालिसकेको छ ।
































