१६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार नउठाउने राष्ट्रिय दल हुँदैन भनेर सहमति गरौँ : महामन्त्री थापा
वि.सं.२०८० पुस २ सोमवार १७:५९
shares

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस र एमाले बिच आपसी डर भगाउन निर्वाचनमा तालमेल नगर्ने सहमति गर्न प्रस्ताव गरेका छन् ।
तनहुँमा आयोजित एक कार्यक्रममा थापाले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार नउठाउने राष्ट्रिय दल हुँदैन भनेर सहमति गर्न प्रस्ताव गरेका हुन् । ‘१६५ निर्वाचन क्षेत्रमा उम्मेदवार नउठाउने राष्ट्रिय दल हुँदैन यसकारणले निर्वाचन अघि कांग्रेस, एमाले र कुनै पनि दलले गठबन्धन गर्न पाउँदैन भन्ने अवस्था पनि बनाऊँ ’, थापाले भने, ‘यस्तो हुँदा कांग्रेस एमालेसँग र एमाले कांग्रेससँग डराउनु पर्दैन । यो गर्न सकिन्छ ।’
यस्तो अभ्यास थुप्रै देशमा पनि रहेको उनको भनाइ छ । ‘यस्तोमा आस्थाको आधारमा कांग्रेस रोज्नेहरू विचलित हुँदैनन् । रणनीतिक हिसाबले पनि ठीक ठाउँमा उभिन सकिन्छ,’ थापाले भने । यस्तै महामन्त्री थापाले पार्टीको आन्तरिक गतिविधिसँगै कांग्रेसबाट निर्वाचन जनप्रतिनिधिको निगरानी गर्न आग्रह गरे । पार्टीको इतिहासबारे तन्नेरीसँग कुरा गर्नुपर्ने उनको भनाइ छ ।
‘पार्टीको इतिहासको कुरा गरेर हुँदैन भन्दै छौँ । तर, कांग्रेस भएन भने अधिनायकवाद आउँछ, कांग्रेस भएन भने स्वतन्त्रता जान्छ, कांग्रेस भएन भने राष्ट्रियता जान्छ, कांग्रेस भएन भने यो हुन्छ भने कोठाभित्र भन्नुहुन्छ । यही कुरा बाहिर गएर तन्नेरीसँग किन भन्दैनौँ ?’ महामन्त्री थापाको प्रश्न छ ।




































