चौधरी ग्रुपको रहेको सीजी कम्यूनिकेशनको लाइसेन्स खारेज
वि.सं.२०८० पुस ३ मंगलवार ०७:४६
shares

काठमाडौं । चौधरी समूह अन्तर्गतको सीजी कम्यूनिकेसन लिमिटेडको अनुमति पत्र लाइसेन्स खारेज भएको छ । लामो समयदेखि अन्योलमा रहेको ग्रामीण दूरसञ्चार सेवासम्बन्धी अनुमति पत्र अन्ततः खारेज भएको हो । अनुमति पत्र स्वतः खारेज भएकोबारे दूरसञ्चार प्राधिकरणले सीजी कम्युनिकेसनलाई सोमबार पत्र पठाएर जानकारी दिएको छ ।
अनुमति पत्र नवीकरणका लागि समयमै निवेदनसहित दस्तुर नबुझाएकाले सीजी स्वतः खारेजीमा परेको प्राधिकरणले जनाएको छ । दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा ५ अनुसार सीजीले ग्रामीण दूरसञ्चार सेवाका लागि प्राप्त गरेको अनुमति पत्र स्वतः खारेज भएको हो । सीजी टेलिकमको स्वामित्व रहेको कम्पनी चौधरी समूहका प्रतिनिधिहरूले आफूहरूलाई विभिन्न कारणले टेलिकम क्षेत्रमा काम गर्न नदिएको गुनासो गर्दै आएका थिए । केही समयअघि एनसेल आजिएटाको नेपाल बहिर्गमन घोषणा भएपछि सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आफूहरूले उपभोक्त्तालाई भ्वाइस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने बाचा गर्दा पनि स्वीकृति नपाएको बताएका थिए ।
सीजीले आधारभूत दूरसञ्चार सेवाका लागि पहल गर्दै आए पनि ग्रामीण दूरसञ्चार सेवाको अनुमति पत्र भने नवीकरण नगरेको प्राधिकरणको भनाइ छ । आधारभूत सेवाका लागि पनि त ग्रामीणको अनुमति पत्र निविरकण गर्नेपर्ने थियो । सीजीको सार्वजनिक दाबी र उसले नवीकरणको लागि देखाएको अनिच्छा विरोधाभाषपूर्ण भएको प्रधिकरणले जनाएको छ । प्राधिकरणले ऐनअनुसार अनुमतिपत्रको अवधि सकिनुअघि नै अनुमतिपत्र नवीकरणका लागि प्राधिकरणमा आवश्यक दस्तुरसहित निवेदन दिनुपर्ने थियो । सीजीले मंसिर १६ भित्र निवेदन दिनुपर्नेमा नदिएपछि स्वतः खारेज भएको हो ।’ प्राधिकरणले यसबारे सीजीलाई पत्राचार गरेको जानकारी दिएको छ ।
सीजीले २०६० मंसिर ५ मा ग्रामीण दूरसञ्चार सेवाका लागि लाइसेन्स लिएको थियो । यद्यपी, कम्पनीले लेटर अफ क्रेडिट बुझाएपश्चात मात्रै अनुमति पत्र कायम हुने सर्तअनुसार पहिलो पटक नवीकरण गर्दा मंसिर १६ (डिसेम्बर २) को मिति कायम भएकाले कम्पनीले यसपाली चौथो नवीकरणका लागि मंसिर १६ भित्र प्रक्रिया पूरा गर्नुपर्ने थियो । दूरसञ्चार ऐनको दफा २५ मा अनुमतिपत्रको अवधि बढीमा २५ वर्षको हुने भए पनि एक पटकमा १० वर्षभन्दा बढी अवधिको लागि अनुमति पत्र नदिइने उल्लेख छ ।
































