मन्त्री ज्वालालाई बचाउन अर्को समिति
वि.सं.२०८० फागुन १८ शुक्रवार १०:२५
shares

काठमाडौ । गत पुस १३ गते ललितपुरको बालकुमारीमा भएको घटनाको छानविन गर्न सरकारले उच्च अदालतका पूर्व न्यायाधिशको संयोजकत्वमा पुस १६ गते छानविन समिति बनाएको थियो । सो समितिले सरकारलाई आफ्नो प्रतिवेदन बुझाइसकेको भएपनि सरकारले उक्त प्रतिवेदन सार्वजनिक गरेको छैन । समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई मुख्य दोषी ठहर गरेको भएपनि प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता स्वार्थलाई हेरेर समितिको प्रतिवेदन आफूले अध्ययन गरिरहेको बताउँदै आएका थिए । समितिले मन्त्री ज्वाला, डिएसपी र मन्त्री ज्वालाका पिएसओलाई कारबाही गर्न सिफारिस गरेपछि त्यस विषयले संसदमा प्रवेश पाएको छ ।
संघीय संसदको प्रमुख विपक्षी दल लगायतका अन्य दलहरुले संसदमा त्यस विषयमा कुरा उठाइरहेका र सभामुखले पटक पटक सरकारलाई संसदमा उठेका विषयमा आफ्नोभनाइ राख्न रुलिङ्ग गरेपनि प्रधानमनत्री दाहालले संसदमा पुगेर जवाफ दिनुको बदला फागुन १४ गते उक्त प्रतिवेदनको अध्ययन गर्न दुई मन्त्रीलाई जिम्मा दिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त प्रतिवेदन अध्ययन गरी सिफारिस गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ्ग र उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत रहेको समिति गठन गरेका छ ।
दाहाल सरकारले संसदमा उठेका विषयहरुका बारेमा संसदलाई जवाफ दिनुको बदला फेरी समिति गठन गरेर दोषी देखिएका व्यक्तिहरुलाई उन्मुक्ति दिने रणनीतिमा लागेका देखिन्छ । सभामुखले दिएको रुलिङ्गको समेत सरकारले उल्ंलघन गरेको छ । १४ गतेको बैठकमा समेत सभामुखले बालकुमारी घटनाका सम्बन्धका बारेमा फागुन १८ गते (आज) संसदलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएको भएपनि मन्त्रिपरिषद्को बैठकले गठन गरेको समितिलाई फागुन २० गते भित्रमा सिफारिस गर्ने समय दिएको हुनाले सरकार संसदलाई छल्नका लागि लागि परेको प्रष्ट भएको छ । छानविन समितिले मन्त्री ज्वालालाई कारबाही गर्न प्रधानमन्त्रीलाई सिफारिस गरिसकेको अवस्थामा फेरी दुई मन्त्री रहेको समिति गठन गर्नु मन्त्री मन्त्रीबीचमा फाटो ल्याउने कार्यमात्र भएको भन्ने आवाज समेत उठेको छ ।
संसदमा त्यही विषयले गर्दा नाराबाजी भईरहेको अवस्थामा मन्त्री ज्वालाको पार्टीले समेत उनलाई फिर्ता बोलाउनुको सट्टा मौन बसेको र प्रधानमन्त्री दाहालले समेत मन्त्री ज्वालालाई बर्खास्त गर्दा सरकार नै संकटमा पर्न सक्ने अवस्था सिर्जना हुन सक्ने भन्दै मन्त्री ज्वालालाई बचाउने खेलका लागि दुई मन्त्री रहेको समिति गठन गरेका छन् । उक्त घटनामा २ युवाको ज्यान गएपछि नैतिकताका आधारमा मन्त्री ज्वालाले राजिनामा दिएर राजनैतिक नैतिकता देखाउनुको बदला मौन बस्नु कहाँको नैतिकता हो ? भन्ने प्रश्न समेत उठेको छ ।






























