आफैंले खनेको खाल्डोमा प्रधानमन्त्री दाहाल
वि.सं.२०८० फागुन १८ शुक्रवार १०:३७
shares
काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले गत पुस १० गते कार्यसम्पादनमा असफल भएका मन्त्रीहरुलाई हटाएर आफू अगाडि बढ्ने अभिव्यक्ति दिएका थिए । तर उनले २ महिना वित्न लाग्दा समेत मन्त्रिपरिषद्को हेरफेर गर्न सकेका छैनन् । सत्ता गठबन्धनमा रहेका दलहरुमध्येको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले आफ्नो पार्टीको महासमितिको बैठक सम्पन्न नभएसम्म मन्त्रिपरिषद्को हेरफेर नगर्ने अडान लिएकोले कांग्रेसको महासमितिको बैठक सम्पन्न भएपछि मन्त्रिपरिषद् हेरफेर गर्ने अभिव्यक्ति प्रधानमन्त्री दाहालले दिएका थिए । कांग्रेसको महासमितिको बैठक सम्पन्न भएको छ तर प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् हेरफेर गर्ने कुरा भुलेका छन् ।
पछिल्लो समयमा बहालवाला मन्त्रीहरु विभिन्न काण्डमा फसेका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वावालाई कारबाही गर्न बालकुमारी प्रकरणमा छानविन गर्न गठित आयोगले कारबाही गर्न सिफारिस गरेको छ ।
मन्त्री ज्यालालाई नत प्रधानमन्त्रीले कारबाही गरे, नत उनको पार्टीले नै उनलाई फिर्ता बोलाएको छ । त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत टेरामक्स काण्डमा फसेका छन् । तत्कालिन सञ्चार तथा सूचनामन्त्री रहेका बेला टेरामक्स काण्डमा भ्रष्टाचार गरेको भन्दै उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिइसकेको छ भने प्रधानमन्त्रीकै पार्टीका नेता रहेका पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँतीमाथि लुम्बिनी विकास कोषको जग्गा प्रधानमन्त्री दाहालका घरबेटीका छोरालाई विना प्रतिस्पर्धा ९९ वर्षका लागि लिजमा दिने र लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादास्पद ल्यारक्याल लामालाई नियुक्ति गरेपछि उनी समेत विवादमा फसेका भएपनि प्रधानमन्त्रीले उनीलाई हटाउन सकेका छैनन् ।
आफ्नै पार्टीका मन्त्रीलाई हटाउन नसक्ने प्रधानमन्त्रीले अन्य पार्टीका मन्त्रीहरुलाई हटाउनु फलामको च्युरा चपाउनु सरह भएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले त आफ्नो पार्टीले हालका मन्त्रीहरुलाई दुई वर्षका लागि मन्त्रीमा पठाएको हुनाले अहिले हटाउन नसकिने बताएका हुनाले प्रधानमन्त्री दाहाल अब भ्रष्टाचारको आहालमा डुबेर सरकार चलाउन बाध्य भएका छन् ।
प्रधानमन्त्री दाहालले आफ्नो पार्टीबाट मन्त्री बनेका मन्त्रीहरुको सिफारिसमा विवादास्पद र स्वार्थ बाझिने गरी विभिन्न पदमा विभिन्न निकायमा नियुक्ति दिलाएका हुनाले प्रधानमन्त्री दाहाल पनि आफैँ संकटमा पर्दै गएका छन् । यी सबै कारणहरुले गर्दा प्रधानमन्त्री दाहाल आफैँले खनेको खाल्डोमा आफैँ पर्दै गएका छन् ।






























