माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटा माथिको अपहरण तथा ज्यान मार्ने मुद्दाको अन्तिम सुनुवाइ हेर्दाहेर्दैमा
वि.सं.२०८१ फागुन २८ बुधवार १७:१६
shares

काठमाडौं । पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटामाथिको अपहरण तथा ज्यान मार्ने मुद्दाको अन्तिम सुनुवाइ हेर्दाहेर्दैमा रहेको छ ।
बुधबार संवैधानिक इजलासमा भएको बहसपछि सो मुद्दा हेर्दाहेर्दैमा रहेको हो । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडालको संवैधानिक इजलासमा भएको सुनुवाइपछि हेर्दाहेर्दैमा राखिएको छ ।यसअघि माओवादी उपाध्यक्ष एवं पूर्वसभामुख सापकोटाविरुद्ध परेको ज्यान मुद्दाको जाहेरीमा हालसम्म भएको अनुसन्धानको विवरण झिकाउन सर्वोच्च अदालतले आदेश गरेको थियो ।सापकोटालाई काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा सजाय माग गर्दै कनकमणि दीक्षित, अर्जुनकी पत्नी पूर्णिमाया लामा र सुशील प्याकुरेल समेतले रिट दायर गरेका थिए ।
सापकोटालाई सभामुख र मन्त्री बनाउने निर्णयविरुद्ध परेका रिटको लामो समयसम्म फैसला आएको छैन । पटकपटक पेशीमा चढे पनि यसको निर्णय सुनुवाइ भने अन्तिममा टर्ने गरेको छ ।
माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै सापकोटाविरुद्ध २०६८ सालमा पहिलो पटक मुद्दा परेको थियो । अर्जुन लामाकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेललगायतले २०६८ असार ६ गते दर्ता गरेका थिए ।उक्त मुद्दामाथि प्रारम्भिक फैसला गर्दै तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो ।
संवैधानिक इजलासमा सापकोटाविरुद्ध तीन वटा मुद्दा छन् । लामाकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते आफ्ना पतिको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अघि बढाउन माग गर्दै रिट निवेदन दायर गरेकी थिइन् ।त्यस्तै पत्रकार कनकमणि दीक्षितविरुद्ध पनि सापकोटाले अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । उनलाई सभामुख बनाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै राष्ट्रपतिका राजनीतिक मामिलाविज्ञ सुशील प्याकुरेलले राजीनामा दिएका थिए ।





































