शिक्षक महासंघलाई वार्तामा आउन सरकारले फेरी बोलायो
वि.सं.२०८१ चैत २६ मंगलवार १६:५३
shares

काठमाडौं । सरकारले आन्दोलनरत शिक्षक महासंघलाई वार्तामा आउन फेरि आव्हान गरेको छ । शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकहरुलाई भोलि फेरि वार्ताको लागि बोलाएको हो ।
विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न वनेको विधेयक, २०८० प्रतिनिधि सभामा पेश भएकोमा त्यसलाई यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले केही दिनदेखि काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् ।यसअघि मन्त्रालयले साझा धारणा निर्माण गर्न चैत्र २१ र २२ गते छलफल र परामर्शका लागि बोलाएको थियो ।
तर, शिक्षकहरु वार्तामा नगएपछि मन्त्रालयमा भोलि वार्ता र संवादका लागि राहत एवम् अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारी लगायतका सबै शिक्षक-कर्मचारीको प्रतिनिधित्व हुनेगरी उपस्थित हुनका लागि नेपाल शिक्षक महासंघलाई पुनः बोलाएको मन्त्रालयका प्रवक्ता शिवकुमार साटाले जानकारी दिए । साथै, वार्ता र संवादको समय तालिका आपसी सल्लाह अनुसार तय गरिने बताएको छ ।





































